बालेनको ठाउँमा बाँदरलाई प्रधानमन्त्री बनाऔँ भनेपछि(भिडियो)
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बाँदर व्यवस्थापनका लागि छुट्टै कानुन बनाउनुपर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बाँदरको समस्या नियन्त्रण र व्यवस्थापनका लागि सरकारले स्पष्ट नीति तथा कानुनी व्यवस्था ल्याउनुपर्ने धारणा राखे।
राईले बाँदरको विषयलाई लिएर व्यंग्यात्मक शैलीमा प्रधानमन्त्रीसँग समेत तुलना गर्दै अहिले देशमा बाँदर व्यवस्थापनको बहस आवश्यक भएको बताए। उनले यस विषयमा विधेयक ल्याएर कानुनी रूपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।
उनले आफ्नो तलबको आधा कटौती भएको उल्लेख गर्दै सरकारले पनि आफ्नो खर्च कटौती गरेर जनताको हितमा लगानी गर्नुपर्ने बताए। आफू सम्पूर्ण तलब त्याग्नसमेत तयार रहेको उल्लेख गर्दै त्यसको प्रत्यक्ष लाभ जनताले पाउनुपर्ने उनको भनाइ थियो।
सांसद राईले किसान तथा सर्वसाधारणको दुःखप्रति सरकार संवेदनशील हुनुपर्ने बताए। पशु अधिकारको विषय उठाउँदै उनले गाईजस्ता जनावरको संरक्षण गर्नुपर्ने धारणा व्यक्त गरे।
उनले जैन धर्म मान्ने व्यक्तिहरूको सम्मान गर्नुपर्ने भए पनि जनतालाई दुःख दिने गतिविधि स्वीकार्य नहुने बताए। धानबाली नष्ट हुने समस्या र वन क्षेत्रमा भइरहेका गतिविधिप्रति पनि उनले असन्तुष्टि जनाए।
राईले वन संरक्षणसँगै वन जोगाउन खटिएका मानिसहरूको सुरक्षामा पनि राज्यले ध्यान दिनुपर्ने बताएका छन्।
