७० वर्षअघिको वन नीतिले आज करोडौँ मानिस ‘एलर्जी’बाट पीडित
काठमाडौं। जापानमा पछिल्ला वर्षहरूमा वसन्त ऋतु सुरु हुनासाथ देखिने एउटा समस्या अहिले राष्ट्रिय स्वास्थ्य संकटको रूपमा विकसित भएको छ । सामाजिक सञ्जालमा केही महिनाअघि सदाबहार वनमाथिबाट धुवाँजस्तै फैलिएको दृश्य भाइरल बनेपछि धेरै मानिस चकित भए । तर त्यो धुवाँ रूखबाट निस्किएको परागकण थियो ।
हरेक वर्ष वसन्त सुरु भएसँगै जापानका सहरहरूमा मास्क लगाएका मानिसहरूको संख्या उल्लेखनीय रूपमा बढ्ने गर्छ । यसको मुख्य कारण ‘हे फिभर’ अर्थात् परागकणका कारण हुने एलर्जी हो । जलवायु परिवर्तनका कारण वसन्त चाँडै आउन थालेपछि समस्या झन् बढ्दै गएको बताइन्छ ।
हे फिभर, जसलाई एलर्जिक राइनाइटिस पनि भनिन्छ। अहिले जापानमा अत्यन्तै व्यापक समस्या बनेको छ । विभिन्न अध्ययनअनुसार जापानको करिब ४३ प्रतिशत जनसंख्यामा यसको मध्यमदेखि गम्भीर लक्षण देखिने गरेको छ ।
तुलनात्मक रूपमा बेलायतमा यस्तो समस्या झन्डै २६ प्रतिशत र अमेरिकामा १२ देखि १८ प्रतिशत जनसंख्यामा मात्रै देखिन्छ ।
एलर्जीका कारण हाच्छ्युँ आउने, आँखा पोल्ने, नाकबाट पानी बग्ने मात्र होइन। निद्रामा समस्या, थकान र ध्यान केन्द्रित गर्न कठिनाइसमेत हुने गरेको चिकित्सकहरू बताउँछन् । यसले काम गर्ने क्षमता घटाउनुका साथै अर्थतन्त्रमा समेत असर पारिरहेको छ ।
अनुमानअनुसार जापानमा हे फिभरको चरम समयमा बिरामी बिदा, उत्पादनशीलतामा कमी र उपभोक्ता खर्च घट्दा दैनिक करिब १ अर्ब ६० करोड अमेरिकी डलर बराबरको आर्थिक प्रभाव पर्ने गरेको छ ।
विशेषज्ञहरूका अनुसार अहिलेको समस्या अचानक सिर्जना भएको होइन । यसको जरा दोस्रो विश्वयुद्धपछिको वन नीतिसँग जोडिएको छ ।
युद्धताका इन्धन अभाव भएपछि जापानले आफ्ना प्राकृतिक वनहरू व्यापक रूपमा काटेर घरेलु तथा औद्योगिक प्रयोजनमा प्रयोग गरेको थियो । त्यसपछि पहिरो र बाढीको जोखिम बढेपछि सरकारले ठूला वृक्षरोपण अभियान सञ्चालन गर्यो ।
त्यसबेला सरकारले छिटो बढ्ने दुई स्थानीय प्रजाति जापानी देवदार ‘सुगी’ र जापानी साइप्रस ‘हिनोकी’ ठूलो मात्रामा रोपेको थियो । ती रूखले छिटो वन पुनर्स्थापना गर्न र भविष्यमा काठ उत्पादनमा सहयोग गर्ने विश्वास गरिएको थियो ।
आज ती वनहरूले जापानको विशाल भूभाग ढाकेका छन् । तर समस्या के भयो भने सुगी र हिनोकीले अत्यधिक मात्रामा हलुका परागकण उत्पादन गर्छन्, जुन हावासँगै सहरसम्म पुग्छ ।
विशेषज्ञहरूका अनुसार यी रूख ३० वर्षपछि परिपक्व हुँदा अझ धेरै परागकण उत्पादन गर्छन् र अहिले अधिकांश वन त्यही अवस्थासम्म पुगेका छन् ।
समस्या नियन्त्रणका लागि जापान सरकारले सन् २०२३ मा एलर्जीलाई राष्ट्रिय सामाजिक समस्या घोषणा गर्दै ३० वर्षभित्र परागकण ५० प्रतिशत घटाउने लक्ष्य सार्वजनिक गरेको छ ।
सरकारले उच्च परागकण उत्पादन गर्ने वन क्षेत्र क्रमशः घटाउने, नयाँ कम परागकण उत्पादन गर्ने बिरुवा रोप्ने र वनलाई जैविक विविधतायुक्त बनाउने योजना अघि सारेको छ ।
तर यो कार्य अत्यन्त चुनौतीपूर्ण मानिएको छ। किनकि जापानको करिब ६८ प्रतिशत भूभाग वनले ढाकिएको छ । त्यसमध्ये ठूलो हिस्सा सुगी र हिनोकीकै वन हुन् ।
जापानका विभिन्न स्थानीय तह र संस्थाहरूले अहिले एकै प्रकारका वनलाई मिश्रित तथा प्राकृतिक वनमा रूपान्तरण गर्ने काम गरिरहेका छन् ।
कोबे, ओकायामा, ओसाका लगायतका क्षेत्रमा सुगी र हिनोकी हटाएर चौडा पात भएका रूखहरू रोप्ने अभियान सञ्चालन भइरहेको छ । यसबाट परागकण घट्नुका साथै चराचुरुङ्गी, भ्यागुता, कछुवा र अन्य वन्यजन्तु पनि फर्किन थालेको बताइएको छ ।
विशेषज्ञहरूका अनुसार यस्ता वनहरू जैविक विविधताका दृष्टिले बढी स्वस्थ हुन्छन् र दीर्घकालमा वातावरणीय सन्तुलन कायम गर्न सहयोग गर्छन् ।
जलवायु परिवर्तनका कारण तापक्रम र मौसम चक्रमा आएको परिवर्तनले परागकणको फैलावट अझ तीव्र बनाइरहेको छ । जापानले हालैका वर्षहरूमा इतिहासकै सबैभन्दा चाँडो परागकण फैलिएको अनुभव गरेको बताइएको छ ।
यद्यपि जापानका वनहरूले ठूलो मात्रामा कार्बन सोस्ने भएकाले वन व्यवस्थापन गर्दा वातावरणीय सन्तुलन पनि ध्यानमा राख्नुपर्ने चुनौती छ ।
जापानमा अहिले परागकण पूर्वानुमान प्रणाली, विशेष औषधि तथा दीर्घकालीन इम्युनोथेरापीमा पनि अनुसन्धान भइरहेको छ । वैज्ञानिकहरूले एलर्जी कम गर्न आनुवंशिक रूपमा परिमार्जित धानसमेत परीक्षण गरिरहेका छन् ।
[अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार गरिएको]
