`

तीन वर्षमा २० हजारभन्दा बढी आत्महत्या

Nepal One HD ३० असार २०८३ १२:३२
जीवनशैली/स्वास्थ्य

काठमाडौं। नेपालमा पछिल्ला वर्षहरूमा आत्महत्या सार्वजनिक स्वास्थ्य र सामाजिक दुवै दृष्टिले गम्भीर चुनौतीका रूपमा देखा परेको छ। प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ देखि चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म देशभर २० हजार ९ सय ४७ आत्महत्याका घटना दर्ता भएका छन्।

तथ्यांकले अधिकांश घटनामा झुन्डिएर आत्महत्या गरिएको देखाएको छ। प्रदेशगत रूपमा कोसी प्रदेशमा सबैभन्दा धेरै र कर्णाली प्रदेशमा सबैभन्दा कम आत्महत्याका घटना दर्ता भएका छन्।

प्रहरीका अनुसार आत्महत्याको जोखिम विशेषगरी १८ देखि २५ वर्ष उमेर समूह मा बढी देखिएको छ। जीवनको संक्रमणकालीन चरणमा रहेका युवामा शैक्षिक दबाब, रोजगारीको अभाव, पारिवारिक अपेक्षा, सम्बन्धमा आउने समस्या, भविष्यप्रतिको अन्योल तथा मानसिक तनावका कारण जोखिम बढ्ने गरेको विश्लेषण गरिएको छ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी अबिनारायण काफ्लेका अनुसार मानसिक स्वास्थ्य समस्या, पारिवारिक कलह, सम्बन्ध विच्छेद, आर्थिक संकट, बेरोजगारी, ऋणको बोझ, प्रेम सम्बन्धमा असफलता, लागुऔषध तथा मदिराको दुव्र्यसन, दीर्घकालीन रोग र आकस्मिक आवेग आत्महत्याका प्रमुख कारणका रूपमा देखिएका छन्। उनका अनुसार अधिकांश घटनामा एउटाभन्दा बढी कारणले संयुक्त रूपमा प्रभाव पारेको पाइन्छ।

आर्थिक वर्ष २०८०/८१ मा देशभर ७ हजार ७ सय ९९ आत्महत्याका घटना दर्ता भएका थिए। त्यसमध्ये कोसीमा १ हजार ५ सय ५८, लुम्बिनीमा १ हजार ३ सय २, मधेसमा १ हजार २ सय ९४, सुदूरपश्चिममा १ हजार १ सय ६२, बागमतीमा ९ सय ६९, गण्डकीमा ६ सय ५५ र कर्णालीमा ३ सय २६ घटना भएका थिए।

आर्थिक वर्ष २०८१/८२ मा कुल ६ हजार ८ सय ६६ आत्महत्याका घटना दर्ता भए। यस वर्ष पनि कोसी प्रदेश १ हजार ४ सय ५२ घटनासहित पहिलो स्थानमा रह्यो। लुम्बिनीमा १ हजार ३ सय ८, मधेसमा १ हजार २ सय ६१, बागमतीमा ८ सय २७, गण्डकीमा ६ सय ३१, सुदूरपश्चिममा ५ सय ७९ र कर्णालीमा ३ सय ३ घटना दर्ता भएका थिए।

चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म मात्रै ६ हजार २ सय ८२ आत्महत्याका घटना अभिलेखमा समावेश भइसकेका छन्। कोसीमा १ हजार ३ सय ८४, लुम्बिनीमा १ हजार १ सय ७६, मधेसमा १ हजार १ सय ६९, बागमतीमा ७ सय ५३, सुदूरपश्चिममा ५ सय ५९, गण्डकीमा ५ सय २९ र कर्णालीमा २ सय ७४ घटना दर्ता भएका छन्।

कर्णाली प्रदेशमा आत्महत्याका घटना तुलनात्मक रूपमा कम देखिनुको एउटा कारण त्यहाँको कम जनसंख्या, कम जनघनत्व तथा भौगोलिक विकटता हुन सक्ने प्रहरी अधिकारीहरूको विश्लेषण छ। तर, कम संख्या हुनु मात्र उपलब्धि नभएको अधिकारकर्मी तथा मनोविमर्शकर्ताहरू बताउँछन्

उनका अनुसार प्रत्येक आत्महत्या एउटा गम्भीर मानवीय क्षति भएकाले तथ्यांकभन्दा पनि रोकथामका प्रभावकारी उपायमा ध्यान दिन आवश्यक छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आत्महत्या न्यूनीकरणका लागि प्रहरीले स्थानीय तह, विद्यालय र समुदायसँग सहकार्य गर्दै गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।

यस्तै अधिकारकर्मी अनुसार आत्महत्या रोकथामका लागि मानसिक स्वास्थ्यबारे खुला संवाद, समयमै परामर्श सेवा, जोखिममा रहेका व्यक्तिको पहिचान र परिवारको सक्रिय साथ अत्यन्त आवश्यक छ।

मानसिक स्वास्थ्य विज्ञहरू पनि आत्महत्या रोकथाम प्रहरीको प्रयासले मात्र सम्भव नहुने बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *