`

बजेट बनाउन व्यस्त अर्थमन्त्रीको मन्त्रालयमै बास

Nepal One HD १० जेठ २०८३ १८:२३
अर्थ समाचार

काठमाडौं। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने संवैधानिक समय नजिकिँदै गर्दा अर्थ मन्त्रालयमा बजेट निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ। 

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अहिले बजेट लेखन तथा अन्तिम परिमार्जनमा पूर्ण रूपमा केन्द्रित रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष जेठ १५ गते संघीय बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । सोहीअनुसार अर्थ मन्त्रालय अहिले अन्तिम तयारीमा जुटेको हो । सीमित स्रोत, बढ्दो विकास आवश्यकताहरू र आर्थिक दबाबबीच सन्तुलित तथा प्रभावकारी बजेट ल्याउने चुनौती सरकारसमक्ष रहेको बताइन्छ । 

मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री वाग्ले पछिल्ला दिनहरूमा दैनिक करिब १६ घण्टा मन्त्रालयमै बिताइरहेका छन् । उनी बिहान ७ देखि ८ बजेको बीचमा मन्त्रालय पुग्ने र राति ११ देखि १२ बजेतिर मात्रै निवास फर्किने गरेको बताइएको छ ।

बजेट लेखनमा संलग्न कर्मचारीहरू पनि मन्त्रालयमै लामो समय बसेर काम गरिरहेका छन् । बिहानदेखि रातिसम्म निरन्तर छलफल, मस्यौदा तयार गर्ने र परिमार्जन गर्ने कार्य भइरहेको स्रोतको भनाइ छ । धेरैजसो कर्मचारीहरूले खाना तथा खाजासमेत मन्त्रालयमै खाने गरेका छन् । 

अर्थमन्त्री वाग्ले अत्यावश्यक बाहेकका सार्वजनिक कार्यक्रमहरूमा सीमित रूपमा मात्र सहभागी भइरहेका छन् । यसबीच उनले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नेदेखि लिएर विभिन्न विधेयकहरू प्रस्तुत गर्ने तथा बजेटका सिद्धान्त र प्राथमिकताहरू संसदमा राख्ने कार्य सम्पन्न गरिसकेका छन् ।

संसदीय समितिका बैठकहरूमा समेत सहभागी भएका मन्त्री वाग्ले अहिले पूर्ण रूपमा बजेट तयारीमै केन्द्रित रहेको बताइन्छ ।अर्थमन्त्री वाग्लेले पछिल्ला महिनाहरूमा कुनै पनि विदेश भ्रमण गरेका छैनन् । बजेट तयारीलाई प्राथमिकता दिँदै उनले केही अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा प्रत्यक्ष उपस्थित हुन नसकी भर्चुअल सम्बोधन गरेका छन् ।

अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा आयोजित ‘नेपाल बहस’ कार्यक्रममा समेत उनी मन्त्रालयबाटै भर्चुअल रूपमा सहभागी भएका थिए । संयुक्त राष्ट्रसंघको एक कार्यक्रममा पनि उनी उपस्थित नभई मन्त्रालयका अधिकारीलाई पठाइएको थियो ।

त्यस्तै उज्बेकिस्तानमा आयोजित एक अन्तर्राष्ट्रिय बैठकमा पनि अर्थमन्त्रीको सट्टा अर्थ मन्त्रालयका सहसचिवले नेपालको प्रतिनिधित्व गरेका थिए । 

बजेट तयारीकै क्रममा अर्थमन्त्री वाग्लेले पूर्वअर्थमन्त्रीहरूसँग समेत छलफल गरेका छन् । गत जेठ ७ गते आयोजित छलफलमा आठ जना पूर्वअर्थमन्त्रीहरूले बजेट सम्बन्धी सुझाव दिएका थिए ।

उक्त छलफलमा डा. प्रकाशचन्द्र लोहनी, विष्णु पौडेल, डा. युवराज खतिवडा, जनार्दन शर्मा, वर्षमान पुन, डा. रामेश्वर खनाल, डा. प्रकाशशरण महत र शंकर कोइरालाले आ-आफ्ना धारणा राखेका थिए । 

अर्थ मन्त्रालयले सहसचिव उत्तरकुमार खत्रीको नेतृत्वमा बजेट मस्यौदा तयार पार्ने विशेष टोली गठन गरेको छ । उक्त टोलीमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख तथा वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख लगायतका अधिकारीहरू संलग्न छन् ।

त्यसैगरी अर्थसचिव र राजस्व सचिव पनि बजेट निर्माण प्रक्रियामा सक्रिय रूपमा सहभागी छन् । 

बजेट लेखनका लागि मन्त्रालयभित्र छुट्टै कार्यकक्ष व्यवस्था गरिएको छ, जहाँ विशेष टोलीले मस्यौदा तयार गर्ने काम गरिरहेको छ । त्यहाँबाट आएका प्रस्तावहरूलाई अध्ययन गरी पुनः परिमार्जन गर्ने काम अर्थमन्त्री स्वयंले गर्ने गरेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार अर्थमन्त्रीले बजेट वक्तव्यको प्रत्येक वाक्यलाई सूक्ष्म रूपमा अध्ययन गर्ने मात्र होइन, भाषागत सुधार र ह्रस्व-दीर्घसमेत ध्यानपूर्वक हेर्ने गरेका छन् ।

बजेट निर्माणका क्रममा अर्थमन्त्री र प्रधानमन्त्रीबीच नियमित समन्वय भइरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री कार्यालयबाट समेत विभिन्न सुझावहरू समन्वयमार्फत आउने गरेको बताइन्छ ।

यद्यपि प्रधानमन्त्री कार्यालयमा अलग्गै बजेट लेखन भइरहेको भन्ने हल्ला पूर्ण रूपमा गलत रहेको स्रोतको दाबी छ । प्रधानमन्त्री र अर्थमन्त्रीबीच निरन्तर सहकार्य र समझदारीमा बजेट निर्माण भइरहेको बताइएको छ ।

बजेट निर्माण अन्तिम चरणमा पुगेसँगै अर्थ मन्त्रालयभित्र गतिविधि अझै तीव्र बनेको छ । सीमित स्रोत र बढ्दो अपेक्षाबीच आगामी बजेटलाई सन्तुलित र प्रभावकारी बनाउन सरकारमाथि ठूलो चुनौती रहेको विश्लेषकहरू बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *