चीन किन दिँदैछ रोबोटलाई डिजिटल परिचयपत्र ?
काठमाडौं। चीनले आफ्नो देशमा उत्पादन हुने सबै मानवरूपी रोबोटलाई डिजिटल परिचय दिने योजना अघि बढाएको छ । अब कृत्रिम बौद्धिकता प्रविधिमा आधारित दुई खुट्टे मानवरूपी रोबोटहरूलाई राष्ट्रिय परिचयपत्रजस्तै छुट्टै पहिचान नम्बर प्रदान गरिने भएको हो ।
चीनको सरकारी पहल अन्तर्गत सुरु गरिएको ‘मानवरूपी रोबोट पूर्ण जीवनचक्र व्यवस्थापन सेवा प्रणाली’ मार्फत यस्तो व्यवस्था लागू गर्न लागिएको हो । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार यो प्रणाली उत्पादनदेखि प्रयोग, मर्मत, बिक्री र पुनःप्रयोगसम्म रोबोटको सम्पूर्ण गतिविधि निगरानी गर्न प्रयोग गरिनेछ ।
यो कार्यक्रम चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको मानवरूपी रोबोट तथा कृत्रिम बौद्धिकता मापदण्ड समितिको नेतृत्वमा सञ्चालन भइरहेको बताइएको छ ।
चिनियाँ अधिकारीहरूका अनुसार रोबोट उद्योग तीव्र रूपमा विस्तार भइरहेका बेला सुरक्षा, नियमन र जोखिम व्यवस्थापनलाई व्यवस्थित बनाउन डिजिटल परिचय प्रणाली आवश्यक ठानिएको हो ।
यस प्रणालीअन्तर्गत प्रत्येक रोबोटलाई विशेष पहिचान कोड प्रदान गरिनेछ । उक्त कोड चार भागमा विभाजन गरिएको छ । पहिलो भागमा दुई अङ्कको राष्ट्रिय कोड रहनेछ। जसले अन्तरदेशीय बिक्री र ढुवानी पहिचान गर्न सहयोग गर्नेछ ।
दोस्रो भाग चार अङ्कको कम्पनी कोड हुनेछ। जसबाट निर्माता कम्पनी पहिचान गर्न सकिनेछ । तेस्रो भाग छ अङ्कको मोडेल कोड रहनेछ भने अन्तिम भाग १७ अङ्कको क्रम सङ्ख्या हुनेछ। जसले प्रत्येक रोबोटलाई फरक पहिचान दिनेछ ।
चीन इलेक्ट्रोनिक्स मापदण्ड संस्थानका उपप्रमुख यू सिउमिङका अनुसार यो प्रणाली निर्माता कम्पनी, सेवा प्रदायक, विक्रेता, प्रयोगकर्ता र पुनःप्रयोग केन्द्रसम्म लागू हुनेछ ।
उनका अनुसार डिजिटल परिचय प्रणालीले सुरक्षा, नियमन र व्यवस्थापनसँग सम्बन्धित चुनौती समाधान गर्न तथा मानवरूपी रोबोटको प्रयोगलाई विस्तार गर्न सहयोग गर्ने लक्ष्य राखेको छ ।
हालसम्म चीनका एक सयभन्दा बढी रोबोट निर्माता कम्पनी र करिब २८ हजार रोबोटमा यो प्रणाली लागू भइसकेको बताइएको छ ।
अन्तर्राष्ट्रिय तथ्याङ्कअनुसार विश्वव्यापी मानवरूपी रोबोट बजार पछिल्लो समय तीव्र रूपमा विस्तार भइरहेको छ । गत वर्ष मात्रै यस्तो बजार पाँच सय प्रतिशतभन्दा बढीले वृद्धि भएको उल्लेख गरिएको छ ।
बलियो औद्योगिक आपूर्ति शृंखला, कृत्रिम बौद्धिकता अनुसन्धान र प्रविधिमा लगानीका कारण चीन अहिले विश्व रोबोट उद्योगको अग्रणी मुलुकका रूपमा उभिएको विश्लेषण गरिएको छ ।
गत महिना बेइजिङमा आयोजित मानवरूपी रोबोट हाफ म्याराथन प्रतियोगिताले पनि चीनको प्राविधिक प्रगति झल्काएको थियो । मानव र रोबोटबीच प्रतिस्पर्धा गरिएको उक्त प्रतियोगितामा ‘लाइटनिङ’ नामक रोबोटले ५० मिनेट २६ सेकेन्डमा दौड पूरा गर्दै नयाँ कीर्तिमान बनाएको थियो ।
यो रोबोट चिनियाँ प्रविधि कम्पनी ‘अनर’ले विकास गरेको हो । अघिल्लो वर्ष विजेता बनेको ‘टियाङगङ’ नामक रोबोटले सोही दूरी पूरा गर्न दुई घण्टा ४० मिनेट लगाएको थियो । यसले केवल एक वर्षमै चीनको रोबोट प्रविधिमा उल्लेखनीय प्रगति भएको देखाएको छ ।
विशेषज्ञहरूका अनुसार चीनको यो डिजिटल परिचय प्रणाली भविष्यमा कृत्रिम बौद्धिकता र रोबोट नियमनको विश्वव्यापी नमुना बन्न सक्ने सम्भावना छ।
तर यससँगै गोपनीयता, निगरानी र प्रविधिमाथिको सरकारी नियन्त्रणबारे नयाँ बहस पनि सुरु भएको छ।
