`

मलमासको परम्परा : के गरिन्छ ?

Nepal One HD १४ जेठ २०८३ ११:२९
अध्यात्म

काठमाडौं। परम्परागत हिन्दू कालगणनामा समयलाई वर्ष,दिन र महिनाको रूपमा मात्र नहेरी सौर र चान्द्र प्रणालीको सूक्ष्म गणनासँग जोडेर हेर्ने र व्याख्या गर्ने गरिन्छ। गणनात्मक जटिलता र खगोलीय सन्तुलनको परिणामस्वरूप कहिलेकाहीँ एक अतिरिक्त महिना जोडिन पुग्छ। जसलाई अधिकमास वा मलमास भनिन्छ।

धार्मिक,सांस्कृतिक तथा ज्योतिषीय दृष्टिले विशेष महत्व बोकेको अवधि समाजको दैनिक जीवनदेखि लिएर चाडपर्व, संस्कार र धार्मिक अभ्याससम्म गहनतम सम्बन्ध राख्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार यस वर्ष जेठ ३ गतेदेखि असार १ गतेसम्म अधिकमास परेको उल्लेख गरिएको छ। सामान्य जनजीवनमा अधिकमास के हो र यस समयमा के गर्ने वा के नगर्ने भन्ने जिज्ञासा प्रायः देखिन्छ।

अधिकमास ज्योतिषशास्त्रसँग सम्बन्धित कालगणनाको एक महत्वपूर्ण अवधारणा हो। ज्योतिषको प्रसिद्ध ग्रन्थ मुहूर्तचिन्तामणिमा उल्लेख गरिएको ‘स्पष्टार्कसङ्क्रान्तिविहीनचान्द्रो मासोऽधिमासः’ भन्ने सूत्रअनुसार संक्रान्तिविहीन चान्द्रमासलाई अधिकमास भनिन्छ।

यसको अर्थ सूर्यको संक्रान्ति नपरेको चान्द्रमास नै अतिरिक्त महिना भएर आउँछ भन्ने हो। हाम्रो कालगणनामा सौरमास र चान्द्रमास दुवै प्रणाली प्रयोग हुने भएकाले यी दुईबीच तालमेल नमिल्दा समयक्रममा एक अतिरिक्त महिना जोडिन पुग्छ।

सौरमास सूर्यको गतिअनुसार निर्धारण हुन्छ र यसमा बाह्र महिना हुन्छन्, जसअनुसार एक वर्ष करिब ३६५ दिनको हुन्छ। प्रत्येक सौरमास लगभग २९ देखि ३२ दिनसम्मको हुन्छ। सौरमानअनुसार एक महिनाको औसत अवधि करिब ३० दिन १० घण्टा ३० मिनेट मानिन्छ। 

यता चान्द्रमास चन्द्रमाको गतिअनुसार निर्धारण हुन्छ। जसमा शुक्लपक्ष र कृष्णपक्ष गरी दुई भाग हुन्छन् र एक चान्द्रमास करिब २९ दिन १२ घण्टा ४४ मिनेटको हुन्छ। चान्द्रमास अमावस्या (औंसी) देखि अर्को अमावस्यासम्म वा पूर्णिमादेखि पूर्णिमासम्म गणना गरिन्छ।

सौरमास र चान्द्रमासबीच करिब २९ घण्टा ४४ मिनेटको अन्तर रहन्छ, जसले लामो अवधिमा ठूलो फरक पैदा गर्छ। यही अन्तर समयसँगै जम्मा हुँदै जाँदा लगभग २७ महिनादेखि ३३ महिनाको बीचमा एक अतिरिक्त महिना बन्न पुग्छ।  जसलाई अधिकमास भनिन्छ।

 सामान्यतया यस्तो वर्षमा १३ वटा चान्द्रमास हुन्छन्। यसरी चन्द्रमास बढेर आउने भएकाले यसलाई ‘अधिक’ अर्थात् अतिरिक्त महिना भनिएको हो।

अधिकमासलाई संक्रान्तिविहीन मास पनि भनिन्छ। किनभने कुनै पनि चान्द्रमासमा सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश नगरेको अवस्था रहन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति का अनुसार सामान्य रूपमा १ गतेलाई संक्रान्ति मानिए पनि वास्तविक संक्रान्ति सूर्यको राशि परिवर्तनको आधारमा निर्धारण हुन्छ। 

जब एउटै चान्द्रमासमा सूर्यको राशि परिवर्तन हुँदैन। त्यही महिना अधिकमास मानिन्छ। यस अवधिमा दुई औंसीबीच कुनै संक्रान्ति नपर्ने स्थिति देखिन्छ।

अधिकमाससँगै ज्योतिषशास्त्रमा क्षयमासको अवधारणा पनि पाइन्छ, जुन अत्यन्त दुर्लभ मानिन्छ। क्षयमासमा एउटै चान्द्रमासमा दुई संक्रान्ति पर्छन्। 

जसले महिनाको स्वरूप घट्ने अवस्था सिर्जना गर्छ। यस्तो अवस्था करिब १४१ वर्षसम्ममा एकपटक मात्र देखिन सक्छ। क्षयमासको अघि र पछि अधिकमास पर्ने सम्भावना पनि रहन्छ भन्ने ज्योतिषीय मान्यता छ।

धार्मिक र सांस्कृतिक दृष्टिले अधिकमासलाई अत्यन्त महत्वपूर्ण मानिन्छ। यस अवधिमा विवाह, व्रतबन्ध, गृहप्रवेश, शिलान्यास, यज्ञ-अनुष्ठान तथा अन्य मांगलिक कार्यहरू नगर्ने परम्परा रहिआएको छ। 

त्यस्तै विशेष तीर्थयात्रा वा कामना राखेर गरिने धार्मिक कार्यहरू पनि यस समयमा निषेध मानिन्छन्। तर दैनिक नित्यकर्म जस्तै स्नान, सन्ध्योपासना, पूजा-आराधना, नामकरण, अन्नप्राशन तथा अन्त्येष्टि जस्ता कार्य भने नियमित रूपमा गर्न सकिन्छ।

पुराण तथा धार्मिक ग्रन्थहरूमा यस महिनालाई भगवान् विष्णु (नारायण) को आराधनाको विशेष समयका रूपमा वर्णन गरिएको छ, त्यसैले यसलाई पुरुषोत्तम मास पनि भनिन्छ। 

यस समयमा भक्ति, ध्यान, जप, पाठ तथा दान विशेष फलदायी मानिन्छ। पुरुषोत्तम माहात्म्य ग्रन्थमा अधिकमासको उत्पत्ति र यसको धार्मिक महत्व विस्तृत रूपमा वर्णन गरिएको पाइन्छ।

लोकपरम्पराअनुसार अधिकमासमा विष्णु मन्दिरहरूमा विशेष मेला लाग्ने गर्छ। विशेषगरी मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिर, चाँगुनारायण, इचंगुनारायण, विशंखुनारायण तथा बूढानीलकण्ठ जस्ता धार्मिक स्थलमा भक्तजनको ठूलो भीड लाग्ने गर्छ। मत्स्यावतारसँग सम्बन्धित विश्वासका कारण मच्छेगाउँको मेला विशेष महत्वको मानिन्छ।

यसरी अधिकमास केवल धार्मिक मान्यता मात्र नभई सौर र चान्द्र कालगणनाबीचको सूक्ष्म वैज्ञानिक असन्तुलनलाई मिलाउने खगोलीय प्रक्रिया पनि हो। यसले हाम्रो परम्परागत ज्योतिषीय ज्ञान, धार्मिक आस्था र सांस्कृतिक अभ्यासलाई एकै ठाउँमा जोड्ने काम गर्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *