`

१६ सय वर्ष पुरानो चिनियाँ ग्रन्थ ‘फु गो ची’ अब नेपालीमा

Nepal One HD १४ जेठ २०८३ १६:००
मनोरञ्जन

काठमाडौं। बौद्ध संस्कृति तथा पुरातत्वका दृष्टिले महत्वपूर्ण मानिने चिनियाँ ग्रन्थ ‘फु गो ची’ (बौद्ध राज्यहरूको अभिलेख) नेपाली भाषामा अनुवाद गरिएको छ। करिब १६ सय वर्षअघि चिनियाँ बौद्ध तीर्थयात्री भिक्षु फासियानले बौद्ध राज्यहरूको भ्रमण गरी तयार पारेको यात्रा विवरणमा आधारित यो ग्रन्थ बौद्ध पुरातत्वको क्षेत्रमा अत्यन्त दुर्लभ र महत्वपूर्ण स्रोतका रूपमा लिइन्छ।

लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रले बेइजिङ लोङमिङह नेटवर्क कम्पनी, चीनको सहकार्यमा उक्त ग्रन्थ नेपाली भाषामा अनुवाद गरेको हो। पुस्तकको अनुवाद विश्वविद्यालयका सहप्राध्यापक डा. सागर न्यौपाने र सहायक निर्देशक चुरामणि पोखरेलले गरेका हुन्।

‘बौद्ध राज्यहरूको अभिलेख’ नामक उक्त पुस्तक सोमबार लुम्बिनीमा आयोजित एक कार्यक्रमबीच औपचारिक रूपमा विमोचन गरिएको हो।

तीर्थयात्री फासियानको यात्रा विवरणलाई आधार मानेर बुद्ध जन्मस्थल लुम्बिनी, शाक्यहरूको राजधानी तिलौराकोट, अस्तुधातु राखिएको रामग्राम लगायतका बौद्ध स्थलहरूको पुरातात्विक पहिचान र ऐतिहासिक प्रमाण स्थापित भएको मानिन्छ। साथै भारतका विभिन्न बौद्ध स्थलहरूको अध्ययनमा समेत यो ग्रन्थ महत्वपूर्ण स्रोतका रूपमा प्रयोग हुँदै आएको छ।

यसअघि यो अभिलेख फ्रेन्च, अंग्रेजी र हिन्दी भाषामा अनुवाद भइसकेको भए पनि चिनियाँ लिपिबाट नेपाली भाषामा अनुवाद गरिएको यो पहिलो प्रयास भएको अनुवादक डा. सागर न्यौपानेले जानकारी दिए। उनका अनुसार अनुवाद कार्य चीनको सिन, चिन, मिङ र छिङ वंशकालमा प्रकाशित चिनियाँ लिपिका आधारमा गरिएको हो।

पुस्तक विमोचन समारोहमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. माणिकरत्न शाक्यले फासियान र ह्वेनसाङ जस्ता चिनियाँ यात्रीहरूको यात्रा विवरण बौद्ध इतिहास अध्ययनका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले यस पुस्तकले नेपाली अनुसन्धानकर्ताहरूलाई अध्ययन र अनुसन्धानमा सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै, सिल्क रोड सांस्कृतिक कार्य कमिटी तथा चीन संस्कृति प्रवर्द्धन सोसाइटीका निर्देशक साङ्ची चसीले फासियानको यात्रा विवरणले सभ्यता, संस्कृति र मित्रताको निरन्तरता बोकेको बताइन्। उनले चीन र नेपालबीच प्राचीनकालदेखि नै सांस्कृतिक आदान–प्रदान हुँदै आएको उल्लेख गरिन्।

लङमिङह नेटवर्क टेक्नोलोजी कम्पनीकी निर्देशक जु युले आगामी दिनमा थप चिनियाँ र नेपाली सांस्कृतिक ग्रन्थहरूको अनुवाद तथा प्रवर्द्धनमा सहकार्य गर्ने प्रतिबद्धता जनाइन्।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार इन्द्रप्रसाद काफ्लेले यो पुस्तक बौद्ध संस्कृतिको अध्ययन, अनुसन्धान र पहिचानका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। अनुसन्धान केन्द्रका निर्देशक प्रा. डा. गितु गिरीले फासियानको यात्रा विवरण बौद्ध इतिहासकै आधारभूत दस्तावेज भएको उल्लेख गर्दै यस्ता प्राचीन ग्रन्थहरूको अनुवाद कार्य निरन्तर जारी रहने जानकारी दिए।

सोही अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘फासियान तथा ह्वेनसाङ अनुसन्धान कोष’ स्थापना गरिएको छ। चिनियाँ दाताहरूको सहयोगमा स्थापना गरिएको उक्त कोषमा ४० लाख रुपैयाँ रकम रहनेछ। विश्वविद्यालयका अनुसार सो कोषको रकम बौद्ध अध्ययन तथा अनुसन्धान कार्यमा प्रयोग गरिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *