`

एकताकाे रणनीतिमा जसपा : खटायो यी तीन नेता

Nepal One HD १४ जेठ २०८३ १७:४३
राजनीति

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल ले विचार मिल्ने राजनीतिक दल तथा मोर्चासँग एकता र सहकार्यको नीति अघि सारेको छ।

पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले मधेशकेन्द्रित तथा समान राजनीतिक धार भएका दलहरूसँग औपचारिक एकता वार्ता अघि बढाउने निर्णय गरेको हो।

पार्टी अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा बसेको बैठकले संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तथा मधेशकेन्द्रित शक्तिहरूबीच सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल गरेको बताइएको छ।

बैठकले पार्टी एकता र सहकार्यका लागि केन्द्रीय सदस्यहरू रकम चेम्जोङ, रेणु यादव र डा. सुरेन्द्रकुमार झा लाई वार्ता टोलीको जिम्मेवारी दिएको छ।

जसपा नेपालले यसअघि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सँग पार्टी एकता गरिसकेको थियो। पछिल्लो समय भने मधेशकेन्द्रित राजनीतिक शक्तिहरूलाई पुनः एउटै मोर्चामा ल्याउने प्रयास तीव्र बनाइएको छ। पार्टी स्रोतका अनुसार जनमत पार्टी लगायत अन्य दलहरूसँग पनि अनौपचारिक छलफल चलिरहेको छ।

गत फागुन २१ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनपछि मधेशकेन्द्रित दलहरूको राजनीतिक प्रभाव कमजोर बनेको विश्लेषण भइरहेका बेला दलहरूबीच एकताको बहस पुनः चर्किएको हो।

निर्वाचनमा अपेक्षाअनुसार परिणाम आउन नसकेपछि विभाजित शक्तिहरूलाई एउटै धारमा ल्याउनुपर्ने दबाब नेताहरूमा बढेको बताइन्छ।

मधेश राजनीतिमा देखिएको विखण्डन, नेतृत्वबीचको प्रतिस्पर्धा र मत विभाजनका कारण क्षेत्रीय दलहरूको प्रभाव क्रमशः घट्दै गएको छ।

यही अवस्थालाई मध्यनजर गर्दै जसपा नेपालले साझा एजेन्डा, पहिचानको राजनीति, संघीयता, समावेशिता र मधेशका मुद्दालाई केन्द्रमा राखेर सहकार्य विस्तार गर्न खोजेको विश्लेषकहरु बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *