`

वीरगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात बढ्यो

Nepal One HD १४ जेठ २०८३ १७:५१
अर्थ समाचार

काठमाडौं। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो १० महिनामा पेट्रोलियम पदार्थको आयात उल्लेखनीय रूपमा वृद्धि भएको छ। भन्सार कार्यालयको तथ्याङ्क अनुसार सो अवधिमा विभिन्न प्रकारका पेट्रोलियम पदार्थको आयात मूल्य रू १ खर्ब ८१ अर्ब ७० करोड पुगेको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष आयात मूल्यमा रू २५ अर्ब ५३ करोड अर्थात १६.३५ प्रतिशतले वृद्धि भएको देखिएको छ। गत वर्षको १० महिनामा यस नाका हुँदै रू १ खर्ब ५६ अर्ब १७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आर्थिक वर्षको १० महिनामा पेट्रोलियम पदार्थ आयातबाट मात्रै रू ६७ अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ।

चालु आर्थिक वर्षको १० महिनामा रू १ खर्ब ५७ करोड मूल्य बराबरको ८ लाख ९५ हजार २४६ किलोलिटर डिजेल आयात भएको छ। गत वर्ष सोही अवधिमा रू ७९ करोड ५७ लाख बराबरको ९ लाख ८५७ किलोलिटर डिजेल आयात भएको थियो।

त्यस्तै, पेट्रोल आयात पनि वृद्धि भएको छ। चालु आर्थिक वर्षमा रू ३५ अर्ब ७९ करोड बराबरको ३ लाख ९० हजार ६१५ किलोलिटर पेट्रोल आयात भएको छ। गत वर्ष सोही अवधिमा रू ३१ अर्ब ७१ करोड बराबरको ३ लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको थियो।

तर, एलपीजी ग्यास (रसोई ग्यास) को आयात भने घटेको छ। चालु आर्थिक वर्षमा रू २५ अर्ब ५४ करोड बराबरको २४ करोड २७ लाख ३ हजार १५० किलोग्राम एलपीजी ग्यास आयात भएको छ। गत वर्ष सोही अवधिमा रू ३० अर्ब २८ करोड बराबरको २६ करोड ४१ लाख १४ हजार ३२६ किलोग्राम एलपीजी ग्यास आयात भएको थियो।

समग्रमा वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थको आयात मूल्य बढेपनि एलपीजी ग्यासको आयातमा भने गिरावट देखिएको छ। डिजेल र पेट्रोलको माग बढेसँगै समग्र पेट्रोलियम आयातमा वृद्धि भएको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *