`

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच टेलिफोन संवाद

Nepal One HD १५ जेठ २०८३ ६:४८
प्रमुख खबर

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाको राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच आज साँझ टेलिफोन संवाद भएको छ ।

संवादका क्रममा उपविदेशमन्त्री हुकरले खनाललाई परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकामा बधाई ज्ञापन गर्दै नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न अमेरिकी सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सो अवसरमा मन्त्री खनालले बधाई सन्देशप्रति आभार व्यक्त गर्दै नेपाल सरकारको तर्फबाट नेपालको समग्र विकासमा निरन्तर सहयोगका लागि अमेरिकी सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनालले सुशासन तथा पूर्वाधार, ऊर्जा, पर्यटन र डिजिटल प्रविधिमा लगानीमार्फत आर्थिक वृद्धिलाई सरकारले प्राथमिकतामा राखेको बारेमा बताउनुभएको थियो । उपविदेशमन्त्री हुकरले अमेरिकी सरकारको तर्फबाट नेपालको राष्ट्रिय विकास प्राथमिकताको प्रशंसा गर्दै उक्त प्रक्रियामा अमेरिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी, उहाँहरूबीच नेपाल र अमेरिकाबीचको आठ दशक लामो सहकार्यपूर्ण सम्बन्धबारे पनि छलफल भएको थियो । साथै उहाँहरूले पारस्परिक हितका लागि द्विपक्षीय तथा बहुपक्षीय तहमा सहयोगलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पुनः व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *