`

बजेट कार्यान्वयनमार्फत सात प्रतिशत बराबरको आर्थिक वृद्धि हुने

Nepal One HD १५ जेठ २०८३ १९:२४
अर्थ समाचार

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वनयबाट सात प्रतिशतबराबरको आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आवको बजेट प्रस्तुत गर्दै सुधार र रुपान्तरणका प्रभावस्वरुप आगामी आर्थिक वर्षमा सात प्रतिशतबराबरको आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धिदर छ प्रतिशतभित्र सीमित रहने विश्वास व्यक्त गर्नुभएको छ ।

बजेटमा घोषणा गरिएका नीतिगत सुधार र कार्यक्रम कार्यान्वयनमा सघाउ पुग्नेगरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति जारी हुने विश्वास व्यक्त गरिएको छ ।

सुशासन सदाचार र समन्यायिक समृद्धिमा केन्द्रित कार्यक्रमको इमान्दारीपूर्ण कार्यान्वयनबाट नेपाललाई आगामी पाँच वर्षभित्र सुशासित, समुन्न्त र स्वाभिमानी राष्ट्रमा रुपान्तरित गर्दै सोह्रौँ योजना र दिगो विकासका अधिकांश लक्ष्य हासिल हुने अर्थमन्त्रीले विश्वास व्यक्त गर्नुभयो ।

अर्थमन्त्री डा वाग्लेले बजेट राज्य सञ्चालनको नयाँ सोच र सङ्कल्प, आर्थिक रूपान्तरणको स्पष्ट मार्गचित्र र नागरिकसँग गरिएको राजनीतिक करार कार्यान्वयनको प्रारम्भ बिन्दु भएको बताउनुभएको छ ।

सुशासन, मध्यम वर्गको अभ्युदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्यसहित बजेटलाई राज्यको भूमिकालाई नियन्त्रक र नियामकमात्र होइन, अवसरको सर्जक संस्थाका रूपमा पुनःपरिभाषित गर्न खोजिएको छ ।

बजेटमार्फत ऊर्जा, कृषि, वन, उद्योग, पर्यटन, सूचना प्रविधि र मानव पुँजीलाई आगामी दशकको आर्थिक समृद्धिका संवाहक क्षेत्रका रूपमा अघि बढाई अर्थतन्त्रमा संरचनात्मक सुधारको नयाँ चरण प्रारम्भ गरिएको घोषणा गरिएको छ ।

बजेटमार्फत राजकाजमा थिति बसाल्ने, निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्ने, सार्वजनिक सेवा प्रवाह संयन्त्रलाई प्रविधि अनुकूल र जवाफदेही बनाउने तथा उत्पादन, नवप्रवर्तन उद्यमशीलतामा आधारित नयाँ आर्थिक सूचक प्रारम्भ गर्ने आधार तयार गरिएको अर्थमन्त्रीको प्रष्टोक्ति छ । कर प्रणालीलाई सरल न्यायोचित उत्पादनमुखी बनाइएको उहाँको कथन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *