विपक्षीलाई बालेनको जवाफ : कार्की आयोगसहित सबै आयोगका प्रतिवेदन सार्वजनिक गरिने(भिडियाे)
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कार्की आयोग, राष्ट्रिय मानव अधिकार आयोग लगायत विभिन्न आयोगका प्रतिवेदन एकैसाथ सार्वजनिक गर्ने घोषणा गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारले कुनै पनि प्रतिवेदन लुकाउने वा दबाउने नीति नलिएको स्पष्ट पारे। उनले सत्यतथ्य जनतासामु ल्याउन तथा पारदर्शिता कायम गर्न सबै आयोगका प्रतिवेदन सार्वजनिक गरिने बताए।
प्रधानमन्त्री शाहको यो अभिव्यक्ति विपक्षी दलहरूले विभिन्न आयोगका प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग उठाइरहेका बेला आएको हो। विशेषगरी कार्की आयोग र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदनलाई लिएर संसदमा बहस भइरहेको छ।
प्रधानमन्त्रीले सरकार तथ्य र प्रमाणका आधारमा अघि बढ्ने उल्लेख गर्दै कुनै पनि प्रतिवेदनलाई राजनीतिक पूर्वाग्रहका आधारमा हेर्न नहुने धारणा राखे। उनले सम्बन्धित निकायका प्रतिवेदन सार्वजनिक भएपछि त्यसमा उल्लेख भएका विषयमा आवश्यक प्रक्रिया र कानुनी कदम अघि बढाइने समेत बताए।
