सभामुखले मिचेको भनिएको नियम ५६ देखि ६० सम्म के छ ?
काठमाडौं। प्रतिनिधिसभा नियमावलीको व्याख्यालाई लिएर संसदमा सभामुख डोलप्रसाद अर्याल र विपक्षी सांसदहरूबीच विवाद उत्पन्न भएको छ।
प्रधानमन्त्रीले आकस्मिक रूपमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न चाहेको सन्दर्भमा नियमावलीको प्रावधानबारे छलफल हुँदा विपक्षी दलहरूले नियमको स्पष्ट व्याख्या गर्न माग गरेका थिए।
त्यसक्रममा नेकपा एमालेका सांसद गुरु बरालले प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको बताए।
उनले प्रतिनिधिसभा नियमावलीको नियम ५६,५७,५८,५९,६० को पालना गर्न अनुरोध समेत गरे।
त्यस्तै,एमालेका सांसद ऐन महरले सभामुखले नियम मिचेको भन्दै स्वयम् सभामुखको भनाई रेकर्डबाट हटाउन माग गरे।
यस घटनाले प्रतिनिधिसभा नियमावलीको व्याख्या र कार्यान्वयनलाई लिएर संसदमा थप बहस सिर्जना गरेको छ।
नियम ५६ देखि ६० सम्म के छ ?
परिच्छेद – ९
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
५६. प्रत्यक्ष प्रश्न गर्न सकिनेः (१) प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।
तर उक्त दिन कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको समयमा सभामुखले प्रश्नकर्ता सदस्यको नाम बोलाउनेछ ।
(३) उपनियम (२) बमोजिम नाम बोलाइएको सदस्यले आफ्नो स्थानमा उभिएर प्रधानमन्त्रीसँग प्रश्न गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिमको प्रश्नको जवाफ प्रधानमन्त्रीले तत्काल दिनु पर्नेछ ।
(५) यस नियम अन्तर्गत प्रश्न गर्दा एक दिनको बैठकमा बढीमा पन्ध्रजना सदस्यले मात्र प्रश्न सोध्न सक्नेछन् र एउटा सदस्यले सोधेको प्रश्नको जवाफ दिइसकेपछि क्रमशः अर्को प्रश्नकर्ता सदस्यको नाम बोलाइनेछ ।
५७. प्रत्यक्ष प्रशारण गर्न सकिनेः यस परिच्छेद बमोजिमको प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रमलाई सरकारी तथा अन्य सञ्चारको माध्यमबाट प्रत्यक्ष प्रशारण गर्न सकिनेछ ।
५८. जानकारी गराउनु पर्नेः यस परिच्छेद अन्तर्गत प्रश्न गर्न इच्छुक सदस्यले आफ्नो प्रश्नको विषयको लिखित जानकारी बैठक प्रारम्भ हुनुभन्दा तीन दिन अगावै सभामुखलाई गराउनु पर्नेछ ।
५९. प्रश्न सम्बन्धी शर्त लागू हुनेः (१) नियम ४८ मा उल्लिखित प्रश्न सम्बन्धी शर्त यस परिच्छेद
अन्तर्गतको प्रश्नको हकमा पनि लागू हुनेछ र नियम ४९ बमोजिम प्रश्न गर्न नपाइने विषयमा प्रश्न गर्न पाइने छैन ।
(२) नियम ५८ बमोजिम प्राप्त प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय नियम ५० बमोजिम हुनेछ ।
(३) प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी अन्य कार्यविधि सभामुखबाट निर्धारण भए बमोजिम हुनेछ ।
६०. छलफल नगरिनेः यस परिच्छेद अन्तर्गत दिइएको जवाफको सम्बन्धमा सभामा कुनै छलफल गरिने छैन ।
