‘अमेरिकी प्रविधिले नेपाली पर्वतारोहणलाई अझ सुरक्षित र आधुनिक बनाउन सक्छ’
काठमाडौं। संयुक्त राज्य अमेरिकाकी सार्वजनिक कूटनीति सम्बन्धी उप-विदेशमन्त्री सारा बी. रोजर्स दक्षिण तथा मध्य एसिया भ्रमणअन्तर्गत भारतको भ्रमण सम्पन्न गरी काठमाडौं आइपुगेकी छन्।
उनी संयुक्त राज्य अमेरिका-नेपाल दूतावासले आयोजना गरेको ‘असेन्ट समिट’मा सहभागी हुन नेपाल आएकी हुन्।
कार्यक्रममा उपविदेशमन्त्री सारा बी रोजर्सले नेपाली पर्वतारोहण तथा हिमाली पर्यटन क्षेत्रमा अमेरिकी प्रविधिले महत्वपूर्ण योगदान पुर्याउन सक्ने बताएकी छन्।
नेपालस्थित अमेरिकी दूतावासले आयोजना गरेको ‘द एसेन्ट समिट’ कार्यक्रममा बोल्दै उनले नेपाल र अमेरिकाबीच नवप्रवर्तन, पर्यटन र प्रविधिमा आधारित सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याएकी हुन्।
उनले संयुक्त राज्य अमेरिका केवल आर्थिक समृद्धि र अवसरको भूमि मात्र नभई साहस, अन्वेषण र नवप्रवर्तनको भावनाबाट निर्माण भएको राष्ट्र भएको उल्लेख गरिन्। विश्वको सर्वोच्च शिखर सगरमाथाले दशकौँदेखि विश्वभरका साहसिक पर्यटक, अनुसन्धानकर्ता र पर्वतारोहीलाई प्रेरणा दिँदै आएको उनको भनाइ थियो।
रोजर्सले सन् १९६३ मा अमेरिकी पर्वतारोही जिम ह्विटेकर र नेपाली शेर्पा नावाङ गोम्बुले संयुक्त रूपमा सगरमाथा आरोहण गरेको ऐतिहासिक क्षण स्मरण गर्दै उक्त सफलताले नेपाल–अमेरिका सम्बन्धलाई थप उचाइमा पुर्याएको बताइन्।
उनले छ दशकभन्दा बढी समय बितिसक्दा पनि पर्यटन, शिक्षा, व्यापार, प्रविधि र जनस्तरको सम्बन्धमार्फत दुई देशबीचको साझेदारी निरन्तर बलियो बन्दै गएको उल्लेख गरिन्।
उनका अनुसार अमेरिकी कम्पनीहरूले विकास गरेका आधुनिक सुरक्षा प्रणाली, सञ्चार उपकरण, ड्रोन प्रविधि तथा अभियान व्यवस्थापनसम्बन्धी प्रविधिहरू नेपाली हिमाली पर्यटनका लागि अत्यन्त उपयोगी हुन सक्छन्।
यस्ता प्रविधिले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउनुका साथै मौसमसम्बन्धी पूर्वतयारी, जोखिम व्यवस्थापन, लजिस्टिक्स सञ्चालन र पर्वतारोहण सुरक्षामा समेत महत्वपूर्ण सहयोग पुर्याउन सक्ने उनले बताइन्।
रोजर्सले सन् २०२५ मा नेपालमा ११ लाख ५० हजारभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटक भित्रिएको तथ्य प्रस्तुत गर्दै अमेरिकाबाट मात्रै करिब एक लाख १२ हजार पर्यटक नेपाल आएको जानकारी दिइन्।
अमेरिकी पर्यटकहरूले नेपालको पर्यटन उद्योग, होटल व्यवसाय, ट्रेकिङ तथा गाइड सेवा, यातायात र स्थानीय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याइरहेको उनको भनाइ थियो।
नेपाललाई अमेरिकाको विश्वासिलो साझेदारका रूपमा चित्रण गर्दै उनले नवप्रवर्तन, उद्यमशीलता, शिक्षा र सुरक्षित प्रविधि समाधानका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
हिमालहरूले संसारलाई साहस, धैर्य र सहकार्यको पाठ सिकाउने उल्लेख गर्दै उनले यही मूल्यले नेपाल-अमेरिका सम्बन्धलाई पनि मार्गदर्शन गरिरहेको बताइन्।
‘हिमालमा सफलता केवल शिखरमा पुग्नु मात्र होइन, त्यो यात्रा कससँग गरिन्छ भन्ने कुराले पनि निर्धारण गर्छ,’ उनले भनिन्, ‘संयुक्त राज्य अमेरिका नेपालसँगको ७९ वर्ष पुरानो मित्रतालाई गर्वका साथ अगाडि बढाउँदै भविष्यमा अझ धेरै सफलताको शिखरहरू सँगै चढ्न चाहन्छ।’
कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति सुम्निमा उदासले सगरमाथा नेपालको अन्तर्राष्ट्रिय पहिचान, राष्ट्रिय गौरव र आर्थिक समृद्धिको प्रमुख आधारमध्ये एक भएको बताइन्।
उनले सगरमाथाले विश्वसामु नेपालको परिचय स्थापित गर्न अतुलनीय भूमिका खेलेको उल्लेख गर्दै पर्वतीय पर्यटन देशको अर्थतन्त्रको महत्वपूर्ण स्तम्भ बनेको धारणा राखिन्। उनका अनुसार यस क्षेत्रले वायुसेवा कम्पनी, होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सी, गाइड, भरिया, स्थानीय व्यवसायी तथा हिमाली समुदायहरूको जीविकोपार्जनमा ठूलो योगदान पुर्याइरहेको छ।
उदासले हरेक वर्ष हजारौँ विदेशी पर्यटक, पर्वतारोही, अनुसन्धानकर्ता, चलचित्र निर्माता तथा साहसिक यात्रुहरू हिमालको आकर्षणले नेपाल आउने गरेको उल्लेख गरिन्।
पश्चिम एसियामा देखिएको अस्थिरता र सङ्कटले समग्र पर्यटन क्षेत्रमा असर पारे पनि पर्वतारोहण गतिविधि तुलनात्मक रूपमा स्थिर रहनुले नेपालको हिमाली पर्यटनप्रतिको विश्वव्यापी आकर्षण अझै बलियो रहेको प्रमाणित गरेको उनको भनाइ थियो।
सभापति उदासले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा गम्भीर असर पुर्याइरहेको भन्दै हिमनदीहरू तीव्र गतिमा पग्लिरहेको, पुराना आरोहण मार्गहरू परिवर्तन भइरहेको र वातावरणीय चुनौतीहरू बढ्दै गएको बताइन्। ‘हाम्रा हिमालहरूले नेपाललाई विश्वभर चिनाएका छन्, अब तिनको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो,’ उनले भनिन्।
उनले फोहोर व्यवस्थापन, भीड नियन्त्रण, वातावरणीय दिगोपना तथा पर्वतीय सुरक्षाका विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याइन्। साथै जलवायु अनुसन्धान, खोज तथा उद्धार, वातावरण संरक्षण, पर्यटन मापदण्ड र पर्वतीय सुरक्षाका क्षेत्रमा सरकार, निजी क्षेत्र, स्थानीय समुदाय तथा अन्तर्राष्ट्रिय साझेदारबीच घनिष्ठ सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरिन्।
पर्यटन क्षेत्रमा पारदर्शिता र जवाफदेहिताको आवश्यकता औँल्याउँदै उनले विगतमा देखिएका नक्कली उद्धार उडान तथा सुरक्षा मापदण्डसम्बन्धी केही घटनाले नेपालको अन्तर्राष्ट्रिय छविमा असर पारेको बताइन्।
यस्ता समस्या समाधानका लागि सरकार र पर्यटन क्षेत्रका सरोकारवालाहरू मिलेर काम गरिरहेको जानकारी दिँदै उनले नेपालको प्रतिष्ठा थप मजबुत बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइन्।
उदासले हालै संसद्मा दर्ता भएको नयाँ पर्यटन विधेयकलाई नेपालको पर्यटन क्षेत्रका लागि ऐतिहासिक अवसरको रूपमा व्याख्या गर्दै यसको उद्देश्य केवल पर्यटन नियमन नभई नेपालको पर्यटनको भविष्य निर्माण गर्नु रहेको बताइन्।
स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने, वातावरण संरक्षणसँगै आर्थिक अवसर विस्तार हुने तथा नेपाललाई विश्वकै अग्रणी दिगो पर्वतीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने दिशामा नीति निर्माण हुनुपर्ने उनको धारणा थियो।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि नेपाल भ्रमण गर्ने उनी हालसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्।
साथै, गत चैत १४ गते सरकार गठनयता नेपाल भ्रमण गर्ने उनी तेस्रो वरिष्ठ अमेरिकी अधिकारी पनि हुन्।
तस्वीरहरू:

















