`

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कमल थापाले पनि जनाए आपत्ति, प्रमाणसहित स्पष्ट पार्न राखे माग

Nepal One HD १७ जेठ २०८३ १८:४४
प्रमुख खबर

काठमाडौँ । राप्रपाका पूर्व अध्यक्ष कमल थापाले प्रधानमन्त्री बालेन साहको सीमा सम्बन्धी अभिव्यक्तिप्रतिको आपत्ति जनाएका छन् ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन् – संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले “नेपालले पनि भारतको सीमा मिचेको छ” भनी दिनुभएको अभिव्यक्तिले सिङ्गो मुलुकलाई तरङ्गित र आश्चर्यचकित बनाइदिएको छ। केही स्थानमा सीमा विवाद हुनु बेग्लै कुरा हो।तर नेपालले भारतको सीमा मिचेको वा अतिक्रमण गरेको छैन। नेपाल छिमेकीको सीमा मिच्नु हुँदैन भन्ने मान्यतामा अडिग छ। यदि नेपालले भारतको सीमा मिचेको छ भन्ने कुरामा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ भने त्यो कुन ठाउँ हो, प्रमाणसहित जनतालाई स्पष्ट पार्नुपर्छ; तत्काल गल्ती सच्याउनुपर्छ र ससम्मान भारतलाई भूमि फिर्ता गर्नुपर्छ। तर, मेरो बिचारमा प्रधानमन्त्रीको यो भनाई अतिरञ्जित र गलत छ।स्वयं भारतले समेत आजसम्म नेपालले सीमा मिचेको आरोप नलगाएको अवस्थामा प्रधानमन्त्रीको यस्तो तथ्यहिन अभिव्यक्ति सर्वथा उपयुक्त हुनसक्दैन।

​नेपाल कुनै पनि छिमेकीको सीमा अतिक्रमण गर्दैन र अरूले हाम्रो भूमि अतिक्रमण गरेको पनि सहन सक्दैन। देश सानो-ठूलो हुन सक्छ, तर राष्ट्रको सार्वभौमिकता र अखण्डतामाथि कुनै सम्झौता हुन सक्दैन। भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेख र सुस्ता क्षेत्रमा नेपालको अविभाज्य भूमि अतिक्रमण गरेको विषयमा देशव्यापी बहस र चिन्ता भैरहेका बेला, प्रधानमन्त्रीले “नेपालले पनि भारतको सीमा मिचेको छ” भनी दिनुभएको वक्तव्य पूर्णतः गैरजिम्मेवारपूर्ण छ। म यसलाई तत्काल सच्याउन आग्रह गर्दछु। देश र जनताले ठूलो भरोसा गरेका प्रधानमन्त्री बालेनबाट यस्तो हलुका र आपत्तिजनक मन्तव्य आउनु अत्यन्तै दुःखद छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *