अराजकताको जगमा बनेको हो बालेन्द्र शाहको सरकार : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको विद्रोह शान्ति, सुशासन र विकासको अभियानलाई अवरुद्ध गर्न योजनाबद्ध रूपमा सञ्चालन गरिएको दाबी गरेका छन्।
उनले उक्त आन्दोलनको मुख्य निशानामा एमाले परेको र पार्टीले सबैभन्दा ठूलो क्षति बेहोरेको बताएका छन्।
काठमाडौंमा बुधबार आयोजित पार्टीको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै ओलीले आन्दोलनका क्रममा देशभर भय र आतंकको वातावरण सिर्जना गरिएको आरोप लगाए। ‘तेरो घरमा आगो लगाइदिन्छु भन्ने धम्की दिइयो, ठाउँ-ठाउँमा आगजनी भयो, तर राज्य प्रभावकारी रूपमा देखिएन,’ उनले भने।
ओलीले त्यसबेला आपराधिक समूहहरू हाबी भएको र लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित सरकारलाई विस्थापित गरिएको दाबी गरे। उनका अनुसार संवैधानिक सरकार हटाएर असंवैधानिक सरकार गठन गरिएको थियो।
उनले प्रतिनिधिसभा विघटनको प्रक्रियामाथि पनि प्रश्न उठाउँदै संविधानअनुसार सरकारले गरेको सिफारिसलाई बेवास्ता गरी गैरसंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाए।
राजनीतिक दलहरूसँग कुनै सहमति वा परामर्श नगरी सडक आन्दोलनका केही व्यक्तिहरूको दबाबमा निर्णय लिइएको उनको भनाइ थियो।
ओलीले वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार अराजकता र वितण्डाको जगमा बनेको दाबी गरे।
उनले त्यसबेला राजनीतिक दलका नेताहरू अपहरणमा परेको, विरोध गर्ने वातावरण नभएको तथा लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार भएको आरोप लगाए।
यद्यपि, प्रतिकूल परिस्थितिका बीच पनि एमालेका नेता–कार्यकर्ताले प्रतिवाद जारी राखेको भन्दै ओलीले पार्टी पंक्तिलाई धन्यवाद दिए। ‘त्यो अराजकताको विरुद्ध आवाज उठाउने काम नेकपा एमालेको अगुवाइमा भयो,’ उनले भने।
