समस्याग्रस्त २३ सहकारीका सञ्चालकहरूको नाम सार्वजनिक, लुकाइएको सम्पत्तिबारे सूचना दिन आग्रह
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ वटा सहकारी संस्थाका सञ्चालकहरूले लुकाएको सम्पत्तिबारे सूचना दिन सर्वसाधारणसँग अनुरोध गरेको छ।
समितिले ती सहकारीका सञ्चालकहरूको नामसहित विवरण सार्वजनिक गर्दै उनीहरूका परिवार, आफन्त तथा अन्य व्यक्तिका नाममा सम्पत्ति लुकाएको जानकारी भएमा सूचना दिन आग्रह गरेको हो।
समितिले जारी गरेको सूचनामा भनिएको छ, ‘सार्वजनिक भएका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिका नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा यस कार्यालयमा सूचना गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।’
त्यसैगरी, समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरूलाई सम्बन्धित सहकारीको दायित्व फरफारक, ऋण असुली, सम्पत्ति तथा अन्य स्रोतसाधनको पहिचान गरी व्यवस्थापन गर्न तथा नियमित रूपमा समितिसँग सम्पर्कमा रही बचत फिर्ता, दायित्व व्यवस्थापन र नियमन प्रक्रियामा सहयोग गर्न पनि आग्रह गरेको छ।
समितिले सहयोग नगरेमा कानुन बमोजिम आवश्यक कारबाही हुने चेतावनीसमेत दिएको छ।
साथै, सार्वजनिक गरिएको विवरणमा कुनै त्रुटि भएमा वा अद्यावधिक गर्नुपर्ने अवस्था भएमा समितिको कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
