गोली चलाउने पत्ता लाग्दैन, तर नेतृत्वलाई दोष : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी विद्रोहका क्रममा भएको गोलीकाण्डको वास्तविकता अझै सार्वजनिक नभएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
ओलीले राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न व्यक्तिमाथि कारबाही सिफारिस गरे पनि गोली चलाउने व्यक्तिको पहिचान गर्न नसकेको दाबी गरे।
उनले घटनाको मुख्य प्रश्न कसले गोली चलायो भन्ने रहेको उल्लेख गर्दै त्यसतर्फ पर्याप्त ध्यान नदिइएको आरोप लगाए।
‘कसले गोली चलायो, त्यो पत्ता लगाइँदैन। तर भूतप्रभावी कानुन बनाएर मलाई र रमेश लेखकलाई कारबाही गर्नुपर्छ भनिन्छ,’ ओलीले भने।
उनले आयोगको प्रतिवेदन र त्यसबाट आएका निष्कर्षमाथि प्रश्न उठाउँदै घटनाका वास्तविक दोषी पहिचान गर्नुको सट्टा राजनीतिक नेतृत्वलाई लक्षित गरिएको दाबी गरे।
गोली प्रहारबाट ज्यान गुमाएका र घाइते भएका व्यक्तिका परिवारले अझै पनि घटनाको सत्य तथ्य जान्न नपाएको उनको भनाइ थियो।
ओलीले घटनाका क्रममा भएको हिंसा, आगजनी र गोलीकाण्डबारे निष्पक्ष तथा विश्वसनीय अनुसन्धान हुनुपर्नेमा जोड दिए। उनले दोषी जोसुकै भए पनि कानुनको दायरामा ल्याउनुपर्ने बताए।
मानव अधिकार आयोगले भने जेनजी विद्रोहसम्बन्धी आफ्नो प्रतिवेदनमा विभिन्न राज्य निकाय र पदाधिकारीको भूमिकामाथि प्रश्न उठाउँदै कारबाहीका लागि सिफारिस गरेको छ। तर आयोगको प्रतिवेदन सार्वजनिक भएपछि त्यसका निष्कर्षलाई लिएर राजनीतिक वृत्तमा बहस जारी छ।
यही क्रममा ओलीले घटनाको सबैभन्दा महत्वपूर्ण प्रश्न अझै अनुत्तरित रहेको दाबी गर्दै जेनजी विद्रोहमा गोली चलाउने व्यक्तिको पहिचान र त्यसको सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
