‘खुट्टामा पलाएको ऐँजेरु झरेको हो’ : धवलको बहिर्गमनबारे लिङ्देनको टिप्पणी
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी छाडेका नेता डा. धवलशम्शेर राणाप्रति खुट्टामा पलाएको ऐँजेरु झरेको टिप्पणी गरेका छन्।
राप्रपा गोरखाको जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टीलाई कमजोर बनाउने उद्देश्यले लाग्नेहरूले पार्टी छाड्दैमा कुनै असर नपर्ने दाबी गरे।
लिङ्देनले पार्टीभित्र समय-समयमा विभिन्न प्रवृत्तिहरू देखिने गरेको उल्लेख गर्दै हालै केही नेताहरूले पार्टी छाडेको प्रसंगलाई संकेत गरे।
उनले भने, ‘पार्टी जीवनमा केही सानोतिनो कुराहरू आउँछन्। केही प्रवृत्तिहरू कहिलेकाहीँ देखा पर्छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना कालदेखि केही यस्ता प्रवृत्तिहरू हामीले देख्यौँ र बेहोर्यौँ। त्यसको अन्तिम कडीको रूपमा हामीले भर्खरै केही साथीहरूको बेहोरालाई देखेका छौँ। तपाईँहरूले चिन्ता लिनु पर्दैन।’
लिङ्देनले महामन्त्री धवलशम्शेर राणाले पार्टी छाडेर जाँदैमा राप्रपालाई कुनै क्षति नपुग्ने दाबी गरे।
उनले थपे, ‘खुट्टामा पलाएको ऐँजेरु, जुत्ता लगाउन पनि काम नदिने, अप्ठ्यारो हुने, हिँड्न पनि अप्ठ्यारो हुने, काटेर फ्याँक्नुपर्ने, आफ्नै जिउको मासु फ्याँक्नुपर्ने जस्तो अवस्था थियो। त्यस्तो अवस्थामा आफैँ झरेर गयो भने त्यसमा के दुःख मान्नुपर्यो ?’
लिङ्देनले पार्टीका उम्मेदवार चयनदेखि चुनावी अभियानसम्म धवलशम्शेरको भूमिका प्रभावकारी नरहेको आरोपसमेत लगाए।
उनले भने, ‘पार्टीले उम्मेदवार सिफारिस गरेर पठायौँ। तर उहाँ कतै आउनुभएन। उठ्ने बेलामा पनि अरू साथीहरू उठेर सीट खाली गरिदिनुभयो। मनोनयनपत्र दिएर आफैँ गायब हुनुभयो। भोट दिन पनि आउनुभएन। यस्तो अवस्थामा पार्टी छाड्दैमा राप्रपामा कुनै भुईँचालो आउँदैन।’
अध्यक्ष लिङ्देनले पार्टी छाड्ने घटनाबाट कार्यकर्ताहरू विचलित नहुन आग्रह गर्दै राप्रपा अझ सुदृढ भएर अघि बढ्ने दाबी गरे।
