रास्वपा मोरङको नेतृत्व कँडेलको काँधमा
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको प्रथम जिल्ला अधिवेशनबाट भरतराज कँडेल जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
तदर्थ समिति सभापतिको जिम्मेवारी सम्हालिरहेका कँडेलले प्रतिस्पर्धी कोषराज खनाल र सागर फुयाँललाई पराजित गर्दै सभापतिमा विजय हासिल गरेका हुन्। सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरिएको थियो।
अधिवेशनबाट बिमला बस्नेत उपसभापति, दिवस नेपाल सचिव तथा सिर्जना गिरी आचार्य सहसचिवमा निर्वाचित भएका छन्। उपसभापति पदमा बस्नेत निर्विरोध निर्वाचित भएकी थिइन् भने सचिव पदका लागि दिवस नेपाल, सुरेश कुमार श्रेष्ठ र कुमार फुयाँलबीच प्रतिस्पर्धा भएको थियो।
नवनिर्वाचित सभापति कँडेल मोरङको उर्लाबारी निवासी हुन्। उनी रास्वपा मोरङका संस्थापक सभापति समेत हुन् र करिब डेढ वर्षअघि सम्पन्न जिल्ला भेलाबाट पनि सभापतिमा निर्वाचित भएका थिए।
शिक्षण पेसाबाट राजनीतिमा प्रवेश गरेका कँडेलले उर्लाबारीका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्यापन गर्नुका साथै काउन्सिलरका रूपमा समेत काम गरिसकेका छन्।
त्यसैगरी, सचिवमा निर्वाचित दिवस नेपाल यसअघि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए। नेपाली कांग्रेस विराटनगर महानगर समितिका उपसचिवसमेत रहेका नेपाल ‘जेन्जी आन्दोलन’पछि रास्वपामा आबद्ध भएका हुन्।
सहसचिव पदमा निर्वाचित सिर्जना गिरी आचार्यले पनि यसअघि पार्टीको जिल्ला नेतृत्वमा भूमिका निर्वाह गरिसकेकी छन्। अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले मोरङमा पार्टी संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकतामा राख्ने जनाएको छ।
