`

‘म फेरि गृहमन्त्री भए भने फोटो खिच्ने,बधाई दिने काम नगरौँ’ – सुधन गुरुङ

Nepal One HD २४ जेठ २०८३ १४:५७
राजनीति

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले आफूविरुद्ध हुने भनिएको सम्पत्ति छानबिनपछि सफाइ पाएर पुनः सरकारी जिम्मेवारीमा फर्किने आशा व्यक्त गरेका छन्।

आइतबार गोरखामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई फेरि गृहमन्त्रीको जिम्मेवारी दिइए छोटो समयमै उल्लेखनीय काम गरेर देखाउने दाबी गरे।

कार्यक्रममा बोल्दै उनले भने, ‘मलाई फेरि त्यो जिम्मेवारीमा इच्छाउनुहुन्छ, काबिल देख्नुहुन्छ भने म त्यो पदमा गइहालेँ भने पनि मलाई अलिकति समय दिनु। दुई महिनाजति समय दिनु।’

उनले मन्त्री बनेपछि औपचारिकता र भीडभाडमा समय खेर नफाल्ने बताउँदै मन्त्रालयको कामलाई प्रत्यक्ष रूपमा परिणाममुखी बनाउन केन्द्रित हुने बताए।

उनको भनाइमा, ‘त्यतिखेर फोटो खिच्ने, माला लगाउने, खादा लगाउने, बधाई दिने कार्यहरू नगरौँ। मन्त्रालय धाउने काम पनि नगरौँ।’

गुरुङले आफूलाई जिम्मेवारी दिइए दुई महिनाभित्र आवश्यक सुधारका कामहरू सुरु गर्ने र प्रशासनिक प्रणालीलाई व्यवस्थित गर्ने बताए।

उनले भने, ‘दुई महिना समय दिनुहोला, म त्यतिखेर सबै कुरा स्टाब्लिस गरिदिन्छु। त्यसपछि पनि भएन भने बाबु तिम्ले बोलेको कुरा भएन है भन्नुहोला।’

उनले आफूले आफ्नो राजनीतिक धरातल नबिर्सिएको र मतदाताको विश्वास तथा मतको सम्मान गर्दै अघि बढिरहेको उल्लेख गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *