ज्यान मार्ने र बलात्कारको धम्की आएको खुश्बु ओलीको गुनासोपछि गृहमन्त्रीको कारबाही आश्वासन
काठमाडौं। प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने तथा बलात्कारसम्मको धम्की आएको विषय उठाएपछि गृहमन्त्री सुधन गुरुङले आवश्यक अनुसन्धान र कानुनी कारबाही गर्ने आश्वासन दिएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा ओलीले आफ्नो अभिव्यक्तिपछि सामाजिक सञ्जालमार्फत लगातार धम्की आइरहेको भन्दै सभाको ध्यानाकर्षण गराएकी थिइन्। त्यसलगत्तै गृहमन्त्री गुरुङले संसद् भवनमै ओलीलाई भेटेर घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही अघि बढाइने बताएका हुन्।
संसद्मा बोल्दै ओलीले केही दिनअघि आफूले नेपाललाई सनातन राज्य बनाइनुपर्ने पक्षमा धारणा राखेको स्मरण गराइन्। उक्त अभिव्यक्तिपछि आफूविरुद्ध सुनियोजित रूपमा सामाजिक सञ्जालमा आक्रमण र धम्कीको श्रृंखला सुरु भएको उनको भनाइ थियो।
‘मैले सनातनी राज्यको पक्षमा आवाज उठाएकी थिएँ। धर्मान्तरणको विरुद्ध बोलेकी थिएँ। म कुनै धर्मको विरोधमा छैन,’ उनले भनिन्, ‘मेरो अभिव्यक्तिले कुनै धर्म मान्ने व्यक्तिलाई समस्या पर्नु नपर्ने हो। के धर्मनिरपेक्ष राज्यमा यति बोल्दा ज्यान मार्ने र बलात्कारको धम्कीसमेत सहनुपर्ने हो ?’
ओलीले आफू व्यक्तिगत रूपमा यस्ता धम्कीसँग जुध्न तयार रहे पनि यसलाई केवल व्यक्तिगत आक्रमणका रूपमा नलिन आग्रह गरिन्। ‘यो ममाथिको मात्र प्रहार होइन, सनातन धर्ममाथिको प्रहार हो,’ उनले भनिन्।
सांसद ओलीको गुनासोपछि गृहमन्त्री गुरुङले घटनालाई गम्भीर रूपमा लिएको जनाउँदै कानुनी प्रक्रियामा जान आग्रह गरेका छन्। प्राप्त उजुरी र प्रमाणका आधारमा आवश्यक अनुसन्धान गरी दोषी पहिचान भएपछि कारबाही गरिने उनको भनाइ रहेको छ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक व्यक्तिमाथि हुने धम्की, दुर्व्यवहार र घृणात्मक अभिव्यक्तिका घटनाप्रति पछिल्लो समय चासो बढिरहेका बेला संसद्मै यो विषय उठेको हो।
तस्वीरहरू:







