मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार
काठमाडौँ। हिमालय उद्धार सङ्घले वसन्त ऋतुमा हिमाल आरोहणका लागि जाने एक हजार ३६२ बिरामीको उपचार गरेको छ ।
आज यहाँ आयोजित एक कार्यक्रममा मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार गरिएको सङ्घले जनाएको हो ।
सङ्घको आज यहाँ आयोजित ५३औँ वार्षिकोत्सव कार्यक्रममा पछिल्लो समय हिमाली क्षेत्रमा सञ्चालित विभिन्न स्वास्थ्य केन्द्रमा उपचार गराउने बिरामीको सङ्ख्या बढेको जानकारी दिइएको हो ।
सङ्घका नवनिर्वाचित अध्यक्ष डम्बर पराजुलीले मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा उपचार गराउने स्वदेशी तथा विदेशी पर्वतारोहीको सङ्ख्या बढेको बताउनुभयो ।
सङ्घका अनुसार सबैभन्दा बढी सगरमाथा आधार शिविरमा ६०६, फेरिचेमा ४२० र मनाङमा ३३६ बिरामीले सेवा लिएका छन् । सेवा लिएकामध्ये ९५० नेपाली र ४१२ जना विदेशी रहेका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । हिमाली क्षेत्रमा हुने आकस्मिक उद्धार र स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।
सङ्घको यही जेठ १८ गते भएको निर्वाचनबाट पराजुलीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । पराजुली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
कार्यसमितिको उपाध्यक्षमा सुशीलकृष्ण अधिकारी, महासचिवमा प्रयुश न्यौपाने, कोषाध्यक्षमा तुलसी गुरुङ, सदस्यमा ज्ञानेन्द्रकुमार श्रेष्ठ, विकास शाह रैनियार, डा सुभास दवाडी, नरबहादुर अस्तानी र दावा स्टिभेन शेर्पा निर्वाचित हुनुभएको छ ।
त्यस्तै, संस्थागत सदस्यमा थामसेर्कु ट्रेकिङ प्रालिका डा यादव अधिकारी र मोनतेरोसा ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिका गणेशबहादुर न्यौपाने निर्वाचित हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिलाई आजै शपथ ग्रहण गराएर प्रमाणपत्र प्रदान गरिएको छ । उहाँहरूलाई मुख्य निर्वाचन अधिकृत कुमारप्रसाद घिमिरेले प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
नेपालका हिमाली क्षेत्रमा पर्यटक तथा पदयात्रीको स्वास्थ्य र सुरक्षाका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको सङ्घले सोलुखुम्बुको सगरमाथा आधार शिविर, फेरिचे, मनाङको मनाङ गाउँ र जनैपूर्णिमाका अवसरमा रसुवाको गोसाइँकुण्डमा हेल्थ क्याम्प राखेर स्वास्थ्योपचार गर्दै आएको सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले जानकारी दिनुभयो ।
