`

संकटसँग जुध्दै क्यान्जिनको याक चिज उद्योग [फोटो-फिचर]

Nepal One HD ३० जेठ २०८३ ११:१०
फिचर

काठमाडौं। लाङटाङ हिमशृंखलाको फेदीमा अवस्थित क्यान्जिन गोम्पाको डीडीसी चिज कारखाना नेपालको हिमाली भेगको एक विशिष्ट पहिचान हो।

समुद्री सतहबाट करिब ३ हजार ८७० मिटरको उचाइमा सञ्चालित यो कारखाना दुग्धजन्य उत्पादन गर्ने उद्योग मात्र होइन, हिमाली जीवनशैली, स्थानीय संस्कृति र पर्वतीय अर्थतन्त्रसँग गाँसिएको जीवित सम्पदा पनि हो।

याक तथा चौँरीको दूधबाट उत्पादन हुने क्यान्जिन चिजले दशकौँदेखि स्वदेशी तथा विदेशी पर्यटकको मन जित्दै आएको छ। हिमालको काखमा उत्पादन हुने यसको स्वाद, गुणस्तर र इतिहासले यसलाई नेपालकै विशेष उत्पादनका रूपमा स्थापित गरेको छ। तर पछिल्ला वर्षहरूमा कृषक पलायन, चरन क्षेत्रको संकुचन र जलवायु परिवर्तनका प्रभावले यो उद्योग गम्भीर चुनौतीको सामना गरिरहेको छ।

सन् १९५० को दशकमा स्विस प्राविधिक सहयोगमा स्थापना गरिएको क्यान्जिन चिज उत्पादन केन्द्र नेपालमा व्यावसायिक याक चिज उत्पादनको अग्रणी परियोजनामध्ये एक मानिन्छ। दुर्गम हिमाली क्षेत्रमा उपलब्ध स्रोत र परम्परागत पशुपालनलाई आधुनिक उत्पादनसँग जोड्ने उद्देश्यले सुरु गरिएको यो परियोजना समयसँगै स्थानीय समुदायको मुख्य आयस्रोत बनेको थियो।

वर्षौँसम्म यहाँ उत्पादन भएको चिज काठमाडौंसहित देशका विभिन्न भागमा पुग्यो भने विदेशी पर्यटकहरूले पनि यसलाई विशेष हिमाली परिकारका रूपमा चिन्न थाले।

क्यान्जिन चिज कारखानाका चिज मेकर ग्याल्बो तामाङका अनुसार अहिले उत्पादनको अवस्था विगतको तुलनामा निकै कमजोर बनेको छ।

उनका अनुसार एक समय दैनिक ५०० लिटरसम्म दूध संकलन हुने कारखानामा अहिले मुस्किलले ६० देखि ७० लिटर दूध मात्रै पुग्ने गरेको छ।

स्थानीय युवाहरू वैदेशिक रोजगारी तथा शहरतर्फ आकर्षित हुँदै जाँदा चौँरीपालन गर्ने परिवारको संख्या घटिरहेको छ। त्यसमाथि परम्परागत चरन क्षेत्रहरू संकुचित बन्दै जानु र मौसमको स्वरूप परिवर्तन हुनुले पशुपालन व्यवसायलाई थप कठिन बनाएको छ।

लाङटाङ क्षेत्रका चौँरीपालकहरू अझै पनि चौँरीलाई चराउन ५ हजार मिटरभन्दा माथिका हिमाली क्षेत्रमा पुग्ने गर्छन्। तर विगतको तुलनामा हिमाली वातावरणमा आएको परिवर्तनले चरन व्यवस्थापन जटिल बन्दै गएको छ।

अनियमित वर्षा, हिउँ पर्ने समयको परिवर्तन, तापक्रम वृद्धि तथा वनस्पतिको स्वरूपमा आएको फेरबदलले पशुपालन व्यवसायमा प्रत्यक्ष असर पारिरहेको स्थानीयहरू बताउँछन्।

जलवायु परिवर्तनको प्रभाव हिमालमा तीव्र रूपमा देखिन थालेपछि उत्पादनको आधार नै कमजोर बन्दै गएको चिन्ता सरोकारवालाहरूको छ।

क्यान्जिनमा उत्पादन हुने चिजको विशेषता यसको लामो प्रशोधन प्रक्रिया पनि हो।

कारखानामा संकलित दूध तुरुन्तै बजार पठाउन मिल्दैन। दूध प्रशोधन गरी चिज तयार गरेपछि कम्तीमा तीन महिना परिपक्व हुनका लागि राख्नुपर्ने हुन्छ।

चिज मेकर तामाङका अनुसार तीन महिनापछि मात्रै चिज उपभोगयोग्य बन्छ। तर परिपक्व हुने अवधि जति लामो भयो, यसको स्वाद र गुणस्तर त्यति नै उत्कृष्ट बन्दै जान्छ।

यही कारणले क्यान्जिन चिजलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय पर्वतीय चिजको रूपमा हेरिन्छ।

कारखानामा कार्यरत सेल्सम्यान दिपक श्रेष्ठका अनुसार क्यान्जिन पुग्ने अधिकांश पर्यटक याक चिज किन्न र स्वाद लिन विशेष रुचि देखाउँछन्।

उनका अनुसार धेरै पर्यटक उत्पादन प्रक्रिया अवलोकन गर्न, चिज कसरी बनाइन्छ भन्ने बुझ्न र हिमाली जीवनशैली नजिकबाट अनुभव गर्न कारखानासम्म पुग्ने गर्छन्।

विदेशी पर्यटकहरूका लागि यो केवल खाद्य सामग्री नभई हिमाली संस्कृतिसँग जोडिएको स्मरणीय अनुभव बन्ने गरेको श्रेष्ठ बताउँछन्।

हालै प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले सामाजिक सञ्जालमा याक चिज खाइरहेको तस्वीर सार्वजनिक गरेपछि क्यान्जिनको चिज पुनः चर्चामा आएको थियो।

त्यसपछि बजारमा याक चिजबारे चासो बढेको र मागमा समेत उल्लेख्य वृद्धि भएको डीडीसी स्रोतको भनाइ छ। सामाजिक सञ्जालको प्रभावले परम्परागत उत्पादनहरूलाई नयाँ पुस्तामाझ चिनाउन मद्दत गरेको स्थानीयहरू बताउँछन्।

हाल रसुवा जिल्लामा क्यान्जिन, धुन्चे, चन्दनबारी, गत्लाङ र तातोपानी गरी पाँच स्थानमा याक तथा चौँरीको दूधबाट चिज उत्पादन भइरहेको छ।

यीमध्ये क्यान्जिन गोम्पाको केन्द्रलाई विश्वकै उच्च स्थानमा सञ्चालित चिज कारखानामध्ये एक मानिन्छ। दुर्गम हिमाली भौगोलिक अवस्थाका बाबजुद निरन्तर उत्पादन जारी राख्नु आफैँमा महत्वपूर्ण उपलब्धि मानिन्छ।

स्थानीय समुदायका लागि यो उद्योग केवल उत्पादन केन्द्र होइन, जीवनयापनको आधार हो। चौँरीपालन, दूध संकलन, चिज प्रशोधन र पर्यटनसँग जोडिएको यो उद्योगले लाङटाङ क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाइरहेको छ।

default

तर उत्पादनमा आएको गिरावट, पशुपालकको संख्या घट्दै जानु, जलवायु परिवर्तनको बढ्दो असर तथा युवा पुस्ताको व्यवसायप्रतिको घट्दो आकर्षणले यसको भविष्यप्रति चिन्ता थपिएको छ।

विशेषज्ञहरूका अनुसार हिमाली पशुपालनलाई प्रोत्साहन, चरन क्षेत्र संरक्षण, जलवायु अनुकूलन कार्यक्रम र स्थानीय उत्पादनको बजार विस्तारमा राज्यले विशेष ध्यान दिन सके मात्र यस्तो मौलिक उद्योग दीर्घकालसम्म टिकाउन सम्भव हुनेछ।

हिमालको काखमा जन्मिएको क्यान्जिनको याक चिज आज एक खाद्य पदार्थ मात्र नभई नेपालको हिमाली संस्कृति, स्थानीय श्रम, परम्परा र पहिचानको प्रतीक बनेको छ।

तर यही स्वादलाई भावी पुस्तासम्म जोगाइराख्न अहिले नै प्रभावकारी पहल आवश्यक देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *