‘हु इज असिम शाह ?’
काठमाडौं। यतिबेला सामाजिक सञ्जालमा ‘हु इज असिम शाह ?’ भन्ने प्रश्न व्यापक रूपमा ट्रेन्डमा छ। सुरुमा सामान्य जिज्ञासाजस्तो देखिएको यो अभियान राजनीति, डिजिटल संस्कृति र सार्वजनिक व्यक्तित्वप्रतिको धारणा निर्माणसँग जोडिएको चर्चाको विषय बनेको छ।
सुरुमा ‘हु इज असिम शाह ?’ भन्दै आसिफ शाहले फेसबुकमा पोस्ट गरेका थिए, जो उनका भाइ हुन्। त्यसपछि यो ट्रेन्ड नै बन्यो। सञ्जोग कोइराला, वर्षा राउत, विशाल भण्डारीलगायतका सेलिब्रेटीहरूले पनि ‘हु इज असिम शाह ?’ भन्दै पोस्ट गरेको देखिन्छ। त्यसपछि रास्वपा सांसद अमरेशकुमार सिंहले एक सार्वजनिक कार्यक्रममा ‘हु इज असिम शाह ?’ भन्दै प्रश्न सोधेपछि यो ट्रेन्ड झन् चर्चामा आयो।
आउनुस्, जानौँ को हुन् असिम शाह ?
शाह अहिले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’का प्रमुख राजनीतिक सल्लाहकार हुन्। साथै, उनी संविधान संशोधन कार्यदलका संयोजक पनि हुन्। संविधान संशोधन कार्यदलले संविधान संशोधनका लागि देशका विभिन्न प्राज्ञिक समूह, उच्चस्तरीय सरकारी व्यक्तित्व तथा अन्य सरोकारवालाहरूसँग छलफल गर्दै आएको छ।
त्यसभन्दा पहिले २०७९ मा शाह राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य थिए।
शाह नेपाली चलचित्र क्षेत्रका निर्माता तथा निर्देशकसमेत हुन्। उनले ‘दुई रुपैयाँ’ र ‘कर्कश’ जस्ता चलचित्र निर्माण तथा निर्देशन गरेका छन्। चलचित्र क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका शाह सन् २०२२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
सामाजिक सञ्जालमा भने यो ट्रेन्डप्रति मिश्रित प्रतिक्रिया देखिएको छ। केही प्रयोगकर्ताले असिम शाहको व्यक्तित्व, स्पष्टता र सार्वजनिक भूमिकाको प्रशंसा गरेका छन् भने केही व्यङ्ग्यात्मक पृष्ठहरूले उनलाई केन्द्रमा राखेर विभिन्न व्यङ्ग्य सामग्री प्रकाशित गरिरहेका छन्। प्रविधिको प्रयोगमार्फत व्यक्तिको पृष्ठभूमि खोज्ने प्रवृत्तिसमेत यस ट्रेन्डमा देखिएको छ।
