दीपक भट्ट र सुलभ अग्रवालको मुद्दामा बयान जारी
काठमाडौं। सम्पत्ति शुद्धीकरण कसुरमा २६ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसहित प्रतिवादीहरूको बयान प्रक्रिया विशेष अदालतमा सुरु भएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा सोमबारदेखि बयान लिइएको हो ।
शुक्रबार प्रारम्भ भएको बयान पूरा नभएपछि आज पुनः सुनुवाइ अघि बढाइएको अदालत स्रोतले जनाएको छ । बयान सम्पन्न भए आजै थुनछेक बहससमेत हुने सम्भावना रहेको छ ।
सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले दीपक भट्ट, शंकर समूहका सञ्चालक सुलभ अग्रवाल, शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोरसहितलाई प्रतिवादी बनाएको छ ।
उनीहरूमाथि हिमालयन रि-इन्स्योरेन्स लगायतका कम्पनीहरूको रकम दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाइएको छ ।
अनुसन्धानका क्रममा दीपक भट्टलाई चैत १९ गते पक्राउ गरिएको थियो भने सुलभ अग्रवाल चैत २२ गते नियन्त्रणमा लिइएको थियो । त्यसपछि उनीहरूमाथि विस्तृत अनुसन्धान अघि बढाइएको हो ।
अभियोगपत्रअनुसार दीपक भट्टमाथि मात्र २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बराबरको बिगो दाबी गरिएको छ । अनुसन्धानमा आर्थिक वर्ष २०७४/७५ मा घर तथा जग्गाको पुनर्मूल्यांकनमार्फत ३५ करोडभन्दा बढी सम्पत्ति वृद्धि देखाइएको उल्लेख छ ।
त्यसैगरी इन्फिनिटी होल्डिङ्स प्रालिमा २०७७/७८ मा ४५ करोड रुपैयाँ र २०७९/८० मा थप ९ करोड ५० लाख रुपैयाँ पूँजी थप गरिएको विवरणसमेत अभियोगमा समेटिएको छ ।
ती रकम बैंकिङ कसुरमार्फत अपचलन गरिएको स्रोतबाट आएको दाबी अभियोजन पक्षको छ ।
मुद्दाको सुनुवाइसँगै विशेष अदालतमा उच्च चासोका साथ बहस अघि बढिरहेको छ । अनुसन्धान र अभियोजन दुवै पक्षका दाबीका आधारमा अदालतले थुनछेक सम्बन्धी निर्णय गर्नेछ ।
