मधेश प्रदेशले ल्यायो ४१ अर्ब १३ करोडभन्दा बढीको बजेट
जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
सोमबार प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा वन क्षेत्रलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
प्रस्तावित बजेटमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ तथा पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको छ। कुल बजेटमा चालु खर्चको हिस्सा ३५.५४ प्रतिशत रहेको छ भने पुँजीगत खर्च ६४.३५ प्रतिशत रहेको छ।
बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक स्रोत तथा राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ जुटाइने अनुमान गरिएको छ। त्यसैगरी संघीय सरकारबाट राजस्व बाँडफाँटमार्फत १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।
अर्थमन्त्री भट्टराईका अनुसार संघीय सरकारबाट प्राप्त हुने वित्तीय अनुदान ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ रहनेछ भने चालु आर्थिक वर्षको बाँकी नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ व्यवस्थापन गरिनेछ। साथै, एक अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋणमार्फत जुटाउने लक्ष्य पनि बजेटमा समेटिएको छ।
बजेटमा संघीय सरकारबाट प्राप्त हुने विभिन्न अनुदानको विवरणसमेत उल्लेख गरिएको छ। जसअनुसार वित्तीय समानीकरण अनुदानतर्फ ७ अर्ब ८४ करोड ८५ लाख, सशर्त अनुदानतर्फ ८ अर्ब १० करोड २८ लाख, समपूरक अनुदानतर्फ ९४ करोड ७४ लाख तथा विशेष समपूरक अनुदानतर्फ ७० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यसरी संघीय सरकारबाट विभिन्न शीर्षकमा कुल १७ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।
