३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारीमा लुम्बीनी
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार गरेको बजेट मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बजेटसँगै विनियोजन विधेयक र आर्थिक विधेयक प्रदेशसभामा पेश गर्न अनुमति दिएको हो।
बजेट सार्वजनिक गर्न आज साँझ ५ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ। बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
प्रदेश सरकार स्रोतका अनुसार आगामी आवको बजेटको आकार करिब ३८ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ।
सरकारले प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमागत योजनाको निरन्तरता, कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सडक पूर्वाधार विकासलाई बजेटको मुख्य प्राथमिकतामा राखेको जनाएको छ। साथै सुशासन प्रवर्द्धन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने कार्यक्रमसमेत बजेटमा समेटिएको बताइएको छ।
