बागमतीको बजेट : ६६ अर्ब ९३ करोड ३३ लाख
हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै कुल बजेटमध्ये चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ अर्थात् ३४.३१ प्रतिशत र पुँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ अर्थात् ६५.६९ प्रतिशत विनियोजन गरिएको जानकारी दिए।
मन्त्री तामाङका अनुसार बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापन राजस्व तथा राजस्व बाँडफाँटबाट प्राप्त हुने ३० अर्ब १५ करोड ६ लाख रुपैयाँ, अन्य आन्तरिक राजस्व स्रोतबाट प्राप्त हुने ७ अर्ब ७३ करोड रुपैयाँ तथा विभिन्न आय स्रोतबाट जुटाइने रकममार्फत गरिनेछ।
त्यसैगरी संघीय सरकारबाट अनुदानस्वरूप १५ अर्ब ३१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। साथै सञ्चित कोष तथा विविध बचतबाट १२ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।
बजेटको बाँकी अपुग स्रोत अन्य संस्थाबाट प्राप्त हुने रकम तथा ऋण लगानी फिर्तामार्फत करिब ९६ करोड रुपैयाँ व्यवस्थापन गरिने मन्त्री तामाङले बताए।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा विकास निर्माण, पूर्वाधार विस्तार, सेवा प्रवाह सुधार तथा आर्थिक गतिविधि प्रवर्द्धनलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ।
