लुम्बिनीको बजेट : ३७ अर्ब ३८ करोड ४५ लाख
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सोमबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन्।
प्रस्तावित बजेटमध्ये पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ छुट्याइएको छ। वित्तीय व्यवस्थापनतर्फको रकमसमेत समावेश गर्दा कुल बजेट ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुगेको हो।
गत आर्थिक वर्ष २०८२/०८३ मा प्रदेश सरकारले ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको थियो। यस वर्षको बजेट अघिल्लो वर्षको तुलनामा करिब १ अर्ब ५२ करोड ५५ लाख रुपैयाँले कम रहेको छ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार विकास, कृषि उत्पादन वृद्धि, शिक्षा तथा स्वास्थ्य सेवाको सुदृढीकरण, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ। साथै उत्पादनमुखी क्षेत्रलाई प्रोत्साहन गर्दै प्रदेशको आर्थिक विकासलाई गति दिने लक्ष्य बजेटले लिएको सरकारको दाबी छ।
