प्रधानमन्त्रीको अभिव्यक्तिमाथि मतदान गरौँ : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीको ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्दै त्यस विषयमा संसदभित्रै मतदान गर्न प्रस्ताव गरेको छ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद रेखा कुमारी यादवले प्रधानमन्त्रीको अभिव्यक्ति केवल ‘मिडिया ट्रायल’ का लागि हो कि तथ्यमा आधारित हो भन्ने प्रश्न उठाएकी छन्। यदि प्रधानमन्त्रीको भनाइ सत्य हो भने त्यसलाई प्रमाणसहित सार्वजनिक गर्नुपर्ने र गलत हो भने संसदको अभिलेखबाट हटाउनुपर्ने कांग्रेसको अडान छ। उनले यस विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच मतदान गराएर सत्य-असत्य टुंगो लगाउनसमेत चुनौती पनि दिइन्।
यादवले सीमा सुरक्षासँग सम्बन्धित विभिन्न घटनामा समेत सरकारसँग जवाफ मागिन् । सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रवेश गरेको विषयमा सरकार किन मौन बसेको भन्दै प्रश्न उठाएकी हुन् । यस्तै, दार्चुला क्षेत्रमा भारतीय हेलिकोप्टरले गरेको भनिएको निरीक्षणबारे पनि सरकारले स्पष्ट जवाफ दिनुपर्ने कांग्रेसको माग छ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसददेखि सामाजिक सञ्जालसम्म व्यापक बहस भइरहेको छ। विपक्षी दलहरूले नेपालको भूमि सम्बन्धी संवेदनशील विषयमा प्रधानमन्त्रीले तथ्यसहित धारणा राख्नुपर्ने बताएका छन् भने सरकार पक्षले प्रधानमन्त्रीको भनाइ सीमा क्षेत्रमा देखिएका ‘क्रस बोर्डर अकुपेसन’ र भोगाधिकारसम्बन्धी विषयसँग जोडिएको दाबी गर्दै बचाउ गरेको छ।
कांग्रेसले राष्ट्रिय स्वाधीनता र सीमा सुरक्षाजस्ता विषयमा सरकार स्पष्ट हुन नसके संसदमा थप दबाब सिर्जना गर्ने चेतावनी दिएको छ।
