`

बालेनको बोली रेकर्डबाट हटाउन विपक्षी दलको एकै स्वर

Nepal One HD २ असार २०८३ ११:४९
राजनीति

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिको विरोध पुनः चर्किएको छ। सांसदहरूले प्रधानमन्त्रीको भनाइप्रति असन्तुष्टि जनाउँदै त्यसलाई संसदीय रेकर्डबाट हटाउन माग गरेका छन्।

नेकपा सांसद प्रमेश हमालले प्रधानमन्त्रीले जेठ १७ गते प्रतिनिधिसभामा दिएको अभिव्यक्तिसम्बन्धी विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्। नेपालले भारतको भूमि मिचेको भन्ने प्रसंग उठेपछि आएको प्रधानमन्त्रीको भनाइबारे उनले सदनमा गम्भीर छलफल आवश्यक रहेको बताए।

सांसद हमालले सरकारको धारणा अस्पष्ट रहेको भन्दै केवल विरोध गर्ने तर पछि पुनः त्यही शैली दोहोरिने प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा राखे। उनका अनुसार प्रधानमन्त्रीको अभिव्यक्ति बारम्बार उठिरहँदा त्यसले संसदीय मर्यादामाथि प्रश्न उठाइरहेको छ।

हमालले परराष्ट्रमन्त्रीलाई लक्षित गर्दै त्रिदेशीय सीमासम्बन्धी विषयमा चीनसँग कुनै संवाद भएको छ कि छैन भन्नेबारे स्पष्ट जानकारी दिन आग्रह गरे। सीमा सुरक्षासम्बन्धी विषयमा सरकारको कूटनीतिक पहल के भइरहेको छ भन्नेबारे पनि उनले प्रश्न उठाए।

सांसद हमालले सीमासम्बन्धी विभिन्न घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै सुस्तामा भारतीय नागरिकको प्रवेश, दार्चुलाको नेपाली आकाशमा हेलिकप्टर प्रवेश, तथा नेपाली चिया निर्यातमा देखिएको अवरोधजस्ता विषय संसद्मा उठाए।

उनका अनुसार यस्ता घटनाहरूले नेपालको सीमा सुरक्षा र सार्वभौमिकतामाथि गम्भीर प्रश्न उठाइरहेका छन्।

यसैबीच कांग्रेसकी सांसद रेखाकुमारी यादवले परराष्ट्रमन्त्रीको अभिव्यक्तिलाई लिएर टिप्पणी गर्दै केटाकेटीलाई लोभ्याउने ललिपपजस्तो आश्वासनले मात्र समस्या समाधान नहुने धारणा व्यक्त गरिन्।

त्यस्तै, एमालेकी सांसद टुकाभद्रा हमालले पनि प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *