`

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४२ वर्षपछि पक्राउ

Nepal One HD २ असार २०८३ १२:३१
समाचार

काठमाडौं। कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई ४२ वर्षपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा साविक हरेवा गाउँ पञ्चायत–१ निवासी तेजबहादुर थापा मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) विरेन्द्र वीर विश्वकर्माका अनुसार थापा मगरलाई रुपन्देहीको देवदहबाट पक्राउ गरिएको हो।

२०४१ सालको जघन्य अपराध

प्रहरीका अनुसार २०४१ साल भदौ २९ गते साविक हरेवा गाउँ पञ्चायत–१ का जैसरा गलामी र लालमती काला घर्ती मगरको घरमा प्रवेश गरी सुन तथा नगद लुटपाट गरिएको थियो। सो क्रममा धारिलो हतियार प्रयोग गरी विभत्स तरिकाले हत्या गरिएको घटनामा थापा मगरविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।

उक्त मुद्दामा सर्वोच्च अदालतले २०५२ सालमा थापा मगरलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो।

अदालतको फैसलापछि फरार रहेका थापा मगर लुकिछिपी बस्दै आएका थिए। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको टोलीले उनलाई यही असार ३१ गते रुपन्देहीको देवदह नगरपालिका-३ बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउपछि उनलाई असार १ गते सोमबार नै जिल्ला अदालत गुल्मीमा पेश गरिएको र अदालतको आदेशअनुसार जन्मकैद सजाय भुक्तानीका लागि जिल्ला कारागार तम्घास पठाइएको डिएसपी विश्वकर्माले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *