मन्त्रीको ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति : कांग्रेसको आपत्ति
काठमाडौं। नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको ‘ठेकेदारको खुट्टा भाँच्ने’ सम्बन्धी अभिव्यक्ति कानुनविपरीत भएको भन्दै संसद्मा कडा आपत्ति जनाएकी छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले मन्त्रीहरूले नै कानुनको पालना नगरे अन्य निकायले कसरी मान्ने भन्ने प्रश्न उठाइन्। उनका अनुसार सरकारी पदमा रहेका व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिले कानुनी राज्यको मान्यतामाथि प्रश्न उठाउँछ।
उनले भनिन्, ‘उहाँले खुट्टा भाँच्ने भन्नुभयो, देशमा नियम-कानुन छैन। उहाँहरूले देशको कानुन मान्नु भएन भने कसले मान्छ ?’
मन्त्री लम्सालले नौबिसे-मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने काममा ढिलाइ भएको विषयलाई लिएर ठेकेदारप्रति आक्रोश व्यक्त गर्दै विवादित अभिव्यक्ति दिएका थिए।
उनले भनेका थिए, ‘जो यो पोलवाला हो नि बिजुलीको पोल, त्यो कन्ट्याक्टरलाई कहाँ छ खोजेर ल्याउनू, तेल्लाई पनि यहीँ राख्नू। घर पठाउने हैन। फेरि काम गरेन भने खुट्टा भाँच्दिनू, मतलब भएन।’
यस अभिव्यक्तिपछि मन्त्रीको शैली र व्यवहारबारे संसद्भित्रै आलोचना भएको हो।
सांसद यादवले यसै क्रममा प्रधानमन्त्रीले सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिबारे पनि स्पष्टता मागेकी छन्। उनले मन्त्रीले मात्रै जवाफ दिएर नहुने भन्दै प्रधानमन्त्री स्वयंले सदनमा जवाफ दिनुपर्ने धारणा राखिन्।
उनले भनिन्, ‘मन्त्रीले जवाफ दिने होइन, प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिको बारेमा उहाँले के भन्नुभएको हो ? मिडिया ट्रायल हो ? यदि हो भने त्यो पनि सदनमा आउनुपर्छ।’
सांसद यादवले नेपाल-भारत सीमा क्षेत्रमा देखिएका विभिन्न घटनाप्रति सरकारको जिम्मेवारीबारे पनि प्रश्न उठाइन्।
उनका अनुसार सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रवेश गर्ने र नेपाली नागरिकले प्रतिरोध गर्नुपर्ने अवस्था चिन्ताजनक छ। त्यस्तै, दार्चुलामा नेपाली आकाशमा विदेशी हेलिकप्टर प्रवेश गर्ने घटनाले पनि राज्यको सुरक्षा संयन्त्रमाथि प्रश्न उठाएको उनले बताइन्।
उनले यी सबै घटनाको स्पष्ट जवाफ सरकारबाट आउनुपर्ने माग गरेकी छन्।
