`

धवलसँग पार्टी गठनको पूर्वसन्ध्यामा दुर्गा प्रसाईंको कार्यसमिति बैठक जारी

Nepal One HD ३ असार २०८३ १२:३७
प्रमुख खबर

काठमाडौं । धवल शमशेरसँग पार्टी गठनको पूर्वसन्ध्यामा दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानकाे केन्द्रीय कार्यसमितिकाे बैठक जारी रहेको छ।

नयाँ राजनीतिक दल घोषणा गर्ने तयारीमा रहेका प्रसाईं र राणाले पार्टी गठनअघि नै २४ वटा विभिन्न समिति तथा विभागहरू गठन गरेका छन्।

पार्टी संरचना तयार पार्ने उद्देश्यसहित उनीहरूले संगठनात्मक कामलाई तीव्र बनाएका हुन्।

यसअघि ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान’ विसर्जन गरेका प्रसाईं र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका राणाले संयुक्त रूपमा नयाँ राष्ट्रवादी राजनीतिक शक्ति निर्माणको प्रक्रिया अघि बढाइरहेका छन्। पार्टी घोषणा मलमासका कारण केही समय रोकिएको बताइए पनि असार १ गतेदेखि प्रक्रिया पुनः अघि बढाइएको जनाइएको छ।

निकट स्रोतका अनुसार नयाँ दलको संगठनलाई व्यवस्थित बनाउन नेतृत्व, नीति निर्माण, संवाद, आर्थिक व्यवस्थापन तथा क्षेत्रगत समन्वयका लागि छुट्टाछुट्टै समिति गठन गरिएको हो।

कार्यदल समिति संयोजकमा मुकुन्द श्याम गिरी, वार्ता समिति संयोजकमा राजु आचार्य, सचिवालय समिति संयोजकमा सगुन सुन्दर लावती तथा विधान मस्यौदा समिति संयोजकमा माधव कल्पितलाई जिम्मेवारी दिइएको छ। आर्थिक समिति संयोजकमा दिलविकास भण्डारी र जेन–जी संयोजन समिति संयोजकमा दीपिका भट्टलाई तोकिएको छ।

सञ्चार समिति संयोजकमा क्षितिज सापकोटा, कानुनी परामर्श समिति संयोजकमा महेन्द्रजंग शाही, प्रशिक्षण विभाग संयोजकमा पुष्प अधिकारी तथा झण्डा, नाम र चुनाव चिह्न सम्बन्धी समिति संयोजकमा मुकुन्द श्याम गिरी रहेका छन्।

त्यसैगरी महिला संयोजन समिति संयोजकमा अञ्जना शाह रावल, युवा विभाग संयोजकमा फणीराज लोहनी, भूपू सैनिक समिति संयोजकमा प्रकाशजंग कार्की र अन्तर्राष्ट्रिय सम्पर्क समिति संयोजकमा निराजन प्रसाईंलाई जिम्मेवारी दिइएको छ। नागरिक सुरक्षा समन्वय समितिको संयोजकमा दुरेन राई चयन भएका छन्।

सांस्कृतिक विभाग, युवा संगठन, प्रवास विभाग, ट्रेड युनियन, खेलकुद समन्वय, सुकुम्बासी व्यवस्थापन, सुझाव संकलन तथा वित्तीय समस्या समाधान (लघुवित्त, मिटरब्याज, बैंक तथा सहकारी) जस्ता विभिन्न क्षेत्र समेट्ने थप समितिहरू पनि गठन गरिएको छ।

नेताहरूले संगठन विस्तार र संरचना निर्माणलाई अन्तिम रूप दिने क्रममा छिट्टै नयाँ राजनीतिक दलको औपचारिक घोषणा गरिने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *