प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्रीहरू
काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रम सुरु भएको छ।
आर्थिक वर्ष २०८३/०८४ का लागि अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन विधेयकमाथि असार १ र २ गते प्रतिनिधिसभामा विस्तृत छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले विभिन्न मन्त्रालयसँग सम्बन्धित नीति, कार्यक्रम, बजेट विनियोजन तथा कार्यान्वयनका विषयमा प्रश्न र जिज्ञासा राखेका थिए।
संसद्को पूर्वनिर्धारित कार्यसूचीअनुसार बुधबार सम्बन्धित मन्त्रीहरूले सांसदहरूले उठाएका विषयमा जवाफ दिन थालेका हुन्। यसक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रामजी यादवले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन सुरु गरेका छन्।
मन्त्री यादवले उद्योग प्रवर्द्धन, आन्तरिक व्यापार व्यवस्थापन, आपूर्ति प्रणाली, बजार अनुगमन तथा उपभोक्ता हित संरक्षणलगायत विषयमा सांसदहरूले व्यक्त गरेका चासो र सुझावबारे सरकारको धारणा प्रस्तुत गरिरहेका छन्।
विनियोजन विधेयकमाथिको छलफल संसदीय बजेट प्रक्रियाको महत्वपूर्ण चरण मानिन्छ। सांसदहरूले मन्त्रालयगत बजेट तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिएपछि विनियोजन शीर्षकमाथिको छलफल अगाडि बढ्नेछ।
प्रतिनिधिसभामा आज विभिन्न मन्त्रालयका मन्त्रीहरूले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।
