`

गलत गर्नेहरूलाई सरकारले नछाड्ने गृहमन्त्री गुरुङको स्पष्ट चेतावनी

Nepal One HD ४ असार २०८३ १२:४९
प्रमुख खबर

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गलत गर्नेहरूलाई सरकारले कुनै हालतमा नछाड्ने स्पष्ट पारेका छन्।

विपद् व्यवस्थापन समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइसकेको र अब अपराध नियन्त्रणमा सरकार कडाइका साथ अघि बढ्ने बताएका हुन्।

गुरुङले सुरक्षा निकाय नागरिक सेवामा समर्पित हुनुपर्ने उल्लेख गर्दै अपराध नियन्त्रणदेखि समग्र शान्ति-सुरक्षासम्म कुनै सम्झौता नहुने बताए। उनले भने, ‘सेवा नै हाम्रो धर्म हो। सुरक्षा निकायहरू नागरिकको सेवामा खट्ने हो। अपराध नियन्त्रणदेखि लिएर सबै कुरामा सबै सुरक्षा निकायका प्रमुखहरूसँग हिजो बैठक बसेको थियो। यसमा हामी निर्मम रूपमा प्रस्तुत हुन्छौँ। गलत गर्ने आफ्नो पार्टी, अर्काको पार्टी भनेर हामीले हेर्दैनौँ। गलतलाई गलत नै भन्छौँ।’

उनले सुरक्षा निकायमा राजनीतिक दबाब र चलखेल अन्त्य भइसकेको दाबी पनि गरे। सरकार निष्पक्ष रूपमा कानुन कार्यान्वयनमा केन्द्रित रहेको उनको भनाइ थियो।

यसैबीच गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनलाई सरकारको प्राथमिकतामा राखिएको जानकारी दिए। बाढी-पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध भइरहेका अवस्थामा गृह मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीच समन्वय गरेर काम भइरहेको उनले बताए।

उनका अनुसार पूर्व-पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग लगायतका सडक अवरुद्ध हुँदा तत्काल सडक खोल्ने व्यवस्था मिलाउन आवश्यक उपकरणहरूको स्थान पहिचान गर्न डिजिटल प्रणाली विकास गरिएको छ। राइड सेयरिङ एपजस्तै अवधारणामा आधारित उक्त प्रणालीमार्फत डोजर तथा अन्य उपकरण कहाँ छन् भन्ने जानकारी लिएर छिटो परिचालन गर्न सकिने उनले बताए।

गुरुङले सरकारले विगतका राम्रा अभ्यासलाई निरन्तरता दिँदै कमजोरी सुधारेर अघि बढ्ने उल्लेख गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *