तीन दिनभित्र बयान दिन आउन आरजुलाई अख्तियारको निर्देशन
काठमाडौं । राहदानी छपाइमा भएको भनिएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बयानका लागि उपस्थित हुन निर्देशन दिएको छ।
आयोगले दुई दिनअघि बूढानीलकण्ठस्थित देउवा निवासमा म्याद तामेलीको सूचना टाँसेर बयानका लागि बोलाएको हो। सूचनाअनुसार सूचना बुझेको वा घरमा टाँस गरिएको मितिदेखि बाटोको म्याद बाहेक तीन दिनभित्र आयोगको टंगालस्थित कार्यालयमा उपस्थित भई बयान दिन भनिएको छ।
आयोगले जारी गरेको सूचनामा राहदानी छपाइ सम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीमाथि अनुसन्धान भइरहेको उल्लेख गर्दै सोही सिलसिलामा देउवासँग बयान लिन आवश्यक परेको जनाएको छ। आयोगले तोकिएको अवधिमा उपस्थित नभए कानुन बमोजिम प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।
आरजु राणा देउवा र उनका पति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए। हाल उनी हङकङमा रहेको बताइएको छ।
राहदानी छपाइ प्रकरणमा अख्तियारले अनुसन्धानलाई तीव्रता दिइरहेको छ। यसअघि आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित केही कर्मचारीलाई पक्राउ गरिसकेको छ भने ठेकेदार कम्पनीका प्रतिनिधिहरूलाई समेत बयानका लागि बोलाएको छ।
उक्त प्रकरणमा राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमितता र भ्रष्टाचार सम्बन्धी उजुरीमाथि अख्तियारले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।
यस्तो छ अख्तियारको सूचना
‘यस आयोगमा परेको वादी नेपाल सरकार प्रतिवादी आरजु राणा देउवा समेत भएको राहदानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानको सिलसिलामा तपाईसँग बयान लिनुपर्ने भएकोले यो सूचना बुझेको वा तपाईँको घरदैलोमा टाँस भएको मितिले बाटोको म्याद बाहेक ३ (तीन) दिनभित्र यस आयोगको महाशाखा नं. १२, कोठा नं. १२ टंगाल, काठमाडौंमा उपस्थित हुन आउनु होला, नआए कानुन बमोजिम हुनेछ ।’
