`

रास्वपाको वरिष्ठ नेतामा दाेहाेरिदै बालेन

Nepal One HD ४ असार २०८३ १६:१७
बिशेष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी संरचनामा पहिलोपटक ‘वरिष्ठ नेता’ पद औपचारिक रूपमा समावेश गर्ने तयारी गरेको छ। आगामी महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमार्फत यो व्यवस्था लागू गर्ने सहमति सचिवालय बैठकले गरेको पार्टी स्रोतले जनाएको छ।

हालसम्म रास्वपाको विधानमा ‘वरिष्ठ नेता’ पदको कुनै व्यवस्था थिएन। तर पार्टीभित्र प्रधानमन्त्रीसमेत रहेका बालेन शाहलाई अनौपचारिक रूपमा यही भूमिकामा राखिँदै आएको थियो। उनलाई पदाधिकारी बन्न अनिच्छुक मानिँदै आएको कारण पार्टीले उनलाई सभापतिपछिको उच्च वरीयतामा रहने गरी ‘वरिष्ठ नेता’ का रूपमा व्यवस्थापन गर्दै आएको बताइन्छ। अब उक्त अभ्यासलाई नै वैधानिक रूप दिन खोजिएको हो।

सचिवालय बैठकले गरेको निर्णयअनुसार प्रस्तावित ‘वरिष्ठ नेता’ पद सम्मानित तथा सेरेमोनियल प्रकृतिको हुनेछ। यस पदमा कुनै निर्वाचन नहुने र मनोनयनमार्फत मात्र नियुक्ति गर्ने व्यवस्था गरिनेछ। पार्टीभित्रको आन्तरिक सन्तुलन र नेतृत्व संरचनालाई स्पष्ट बनाउन यस्तो व्यवस्था आवश्यक भएको नेताहरूको भनाइ छ।

पार्टी स्रोतका अनुसार आगामी महाधिवेशनपछि पनि बालेन शाह नै रास्वपाका वरिष्ठ नेता रहने सम्भावना उच्च छ। उनलाई औपचारिक रूपमा वरिष्ठ नेता घोषणा गर्ने तयारी सभापति रवि लामिछानेले गर्ने जनाइएको छ। हाल उनी सक्रिय कार्यकारी जिम्मेवारी लिन इच्छुक नभएको र पार्टीको नीति तथा मार्गनिर्देशन तहमा सीमित भूमिका चाहेको रास्वपा वृत्तमा चर्चा छ।

शाह गत निर्वाचन अघि रास्वपामा प्रवेश गरेपछि वरिष्ठ नेताको पद सिर्जना गरिएको थियो।  अहिले रास्वपाको शक्ति सन्तुलनमा उनको पनि छुटै शक्ति रहेको बताइन्छ।  उनी पक्षधर भुपदेव शाह अहिले रास्वपा महामन्त्री छन्।  त्यस्तै, आगामी महाधिवेशनमा बालेन पक्षले पनि सचिवालय तथा पदाधिकारी स्तरमा व्यापक उम्मेदवारी तथा दाबी गर्ने विश्लेषण पनि भइरहेको छ। 

यसैबीच, सचिवालय बैठकले संगठनात्मक संरचनामा थप परिवर्तन गर्ने निर्णय पनि गरेको छ। पार्टीमा हाल रहेका चार सहमहामन्त्रीको संख्या बढाएर पाँच पुर्‍याउने सहमति भएको छ। प्रस्तावित नयाँ व्यवस्थाअनुसार कम्तीमा एक सहमहामन्त्री महिला अनिवार्य रहनेछ।

त्यसैगरी, पार्टीका अन्य महत्वपूर्ण पदहरूमा पनि समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरिएको छ। उपसभापति, सहप्रवक्ता र सहकोषाध्यक्ष पदमा कम्तीमा एक महिला अनिवार्य हुने व्यवस्था गर्ने सहमति भएको छ। यसले पार्टी नेतृत्व संरचनामा लैंगिक सन्तुलन मजबुत बनाउने अपेक्षा गरिएको छ।

रास्वपाले पछिल्ला वर्षहरूमा संगठन विस्तारसँगै आन्तरिक संरचनालाई व्यवस्थित बनाउने प्रयास गर्दै आएको छ। नयाँ विधान संशोधन प्रस्तावले पार्टीलाई थप संस्थागत, समावेशी र स्पष्ट जिम्मेवारीयुक्त बनाउने लक्ष्य लिएको नेताहरूले बताएका छन्।

आगामी महाधिवेशनमा यी सबै प्रस्तावहरू छलफलपछि पारित हुने अपेक्षा गरिएको छ। संशोधन पारित भएमा रास्वपाको नेतृत्व संरचनामा नयाँ पदहरू थपिने र समावेशी प्रतिनिधित्वको अभ्यास अझ मजबुत हुने देखिन्छ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *