`

कार्यगत एकताको लागि प्रचण्डसँग ओलीको प्रस्ताव

Nepal One HD ४ असार २०८३ १८:१८
बिशेष

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष कार्यगत एकताको प्रस्ताव राखेका छन्।

अध्यक्ष ओलीले नेकपाका संयोजक प्रचण्डसँग भेटेरै उक्त प्रस्ताव गरेका हुन् ।

तत्काल पार्टी एकता सम्भव नभएको अवस्थामा कम्तीमा साझा राजनीतिक एजेन्डा र संगठनात्मक सहकार्यमार्फत अगाडि बढ्न सकिने धारणा ओलीले राखेको स्रोतहरूको दाबी छ।

स्रोतका अनुसार जेठ ३१ गते प्रचण्ड निवासमा भएको भेटमा ओलीले आगामी चुनावलाई केन्द्रमा राखेर कार्यगत एकताको अवधारणा अघि सारेका थिए। फागुन २१ गतेको निर्वाचनपछि दुवै नेताबीच तीनपटक भेटवार्ता भइसकेको छ। पछिल्ला दुई भेटमा भने वाम शक्तिहरूबीच सहकार्य र एकताको सम्भावनाबारे गम्भीर छलफल भएको बताइएको छ।

ओलीले विगतको नेकपा एकीकरण हतारमा गरिएको र संगठनात्मक अन्तरघुलन पर्याप्त नहुँदा विभाजनको अवस्था आएको विश्लेषण प्रचण्डसमक्ष राखेका थिए। त्यसैले यसपटक प्रत्यक्ष पार्टी एकताभन्दा पहिले कार्यगत सहकार्यमार्फत नेता–कार्यकर्ताबीच विश्वास निर्माण गर्नुपर्ने उनको तर्क रहेको बताइन्छ।

उनको प्रस्तावअनुसार देशभरका संगठन, जनवर्गीय संस्था र राजनीतिक अभियानहरूमा संयुक्त रूपमा काम गर्ने वातावरण निर्माण गर्न सकिन्छ। यसले आगामी निर्वाचनसम्म वाम मतदातालाई एकीकृत सन्देश दिन सहयोग पुग्ने एमाले नेतृत्वको बुझाइ छ।

राजनीतिक वृत्तमा ओलीको यो प्रस्तावलाई केवल वाम एकताको प्रयासका रूपमा मात्र नभई एमालेभित्र विकसित भइरहेका आन्तरिक शक्ति समीकरणसँग पनि जोडेर हेरिएको छ। पछिल्लो समय पार्टीभित्र पुनर्गठनको बहस तीव्र बन्दै गएका बेला अध्यक्ष ओलीमाथि नेतृत्व चुनौती बढिरहेको विश्लेषण हुँदै आएको छ।

एमालेका केही प्रभावशाली नेताहरू वैकल्पिक शक्ति केन्द्र निर्माणको प्रयासमा रहेको चर्चा चलिरहेका बेला ओलीले वाम एकताको कार्ड अघि सारेर पार्टीभित्रको दबाब कम गर्ने रणनीति अपनाएको आकलन गरिएको छ। कार्यगत एकताको घोषणा हुन सकेमा एमालेभित्र असन्तुष्ट समूहहरूलाई समेत दबाबमा राख्न सकिने ओली पक्षको विश्वास रहेको बताइन्छ।

उता प्रचण्ड पनि वाम शक्तिबीच सहकार्य र एकताको सिद्धान्ततः विपक्षमा नरहेको स्रोतहरूको भनाइ छ। तर नेकपाभित्रकै संगठनात्मक व्यवस्थापन, महाधिवेशनको तयारी र नेतृत्व संरचनासम्बन्धी प्रश्नहरू अझै समाधान हुन बाँकी रहेकाले उनले तत्काल स्पष्ट प्रतिबद्धता नजनाएको बुझिएको छ।

प्रचण्डनिकट स्रोतहरूका अनुसार पार्टीको आन्तरिक संरचना व्यवस्थित नगरी एमालेसँगको एकता प्रक्रियामा प्रवेश गर्दा नयाँ जटिलता सिर्जना हुन सक्ने चिन्ता नेकपा नेतृत्वमा रहेको छ। त्यसैले महाधिवेशन सम्पन्न गरी पार्टीलाई संस्थागत आधारमा बलियो बनाएपछि मात्र थप निर्णय लिने सोचमा प्रचण्ड रहेको बताइन्छ।

यद्यपि ओली र प्रचण्डबीच संवादको श्रृंखला जारी रहनु र कार्यगत एकताको प्रस्ताव औपचारिक रूपमा उठ्नुले नेपाली वाम राजनीतिमा नयाँ समीकरण बन्न सक्ने संकेत दिएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ।

आगामी स्थानीय तथा प्रदेश–संघीय निर्वाचनको तयारीसँगै वाम शक्तिहरूबीचको सम्बन्ध कुन दिशामा अघि बढ्छ भन्ने विषय अब राजनीतिक चासोको केन्द्र बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *