यो देश ढुङ्गाको हो या मान्छेको देश हो ? – हर्क साम्पाङ
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे आफूहरूले लामो समयदेखि आवाज उठाउँदै आए पनि त्यसको सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग आफूहरूले करिब एक महिनादेखि निरन्तर उठाइरहेको बताए। साथै उक्त विषयमा विरोधस्वरूप प्लेकार्डसहित आन्दोलन गरिरहेको पनि उनले उल्लेख गरे।
साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउन सभामुखसमक्ष पटक-पटक आग्रह गरिएको भए पनि हालसम्म कुनै सुनुवाइ नभएको गुनासो गरे।
‘प्रधानमन्त्रीको वक्तव्य सच्याउनुपर्छ भनेर हामीले लामो समयदेखि माग गरिरहेका छौँ। संसद्को रेकर्डबाट त्यो अभिव्यक्ति हटाउन पनि निरन्तर आग्रह गरेका छौँ,’ उनले भने।
उनले जनप्रतिनिधिहरूले उठाएका विषयप्रति राज्यका जिम्मेवार निकायले ध्यान नदिएको आरोप लगाउँदै लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएका छन्।
साम्पाङले सरकार र संसद् नेतृत्व दुवैले आफ्ना मागप्रति बेवास्ता गरेको टिप्पणी गर्दै जनताको आवाज सुनिनुपर्नेमा जोड दिए। ‘अब कसैले कसैको कुरा नसुन्ने हो भने देश कस्तो दिशातर्फ जाँदैछ भन्ने चिन्ता पैदा भएको छ,’ उनले बताएका छन्।
उनले देश ढुङ्गाको हो कि मान्छेको भन्दै प्रश्न गरे।
