रास्वपाको महाधिवेशन : झाँकीले स्वागत गर्ने तयारी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबारदेखि चितवनमा सुरु हुने आफ्नो महाधिवेशनमा थारु संस्कृतिको प्रवर्द्धन गर्ने भएको छ।
पार्टीको अतिथि सत्कार उपसमितिका अनुसार चितवन क्षेत्र थारु समुदायको सांस्कृतिक रूपमा समृद्ध भएकाले स्थानीय पहिचान र परम्परालाई महाधिवेशनमार्फत उजागर गर्ने उद्देश्य राखिएको हो।
उपसमिति संयोजक ध्रुव गिरीका अनुसार महाधिवेशनमा थारु सांस्कृतिक झाँकी, संगीत प्रस्तुति तथा विभिन्न सांस्कृतिक कार्यक्रम समावेश गरिनेछ। उनले थारु समुदायको मौलिक पहिचान झल्काउने म्युजिक कल्चर सो पनि आयोजना गरिने जानकारी दिए।
महाधिवेशन अवधिभर सवारी आवागमनमा असर नपर्ने गरी झाँकी प्रदर्शनको व्यवस्था मिलाइएको छ। साथै, कार्यक्रम स्थलमा आउने अतिथिहरूलाई थारु समुदायका महिलाहरूले परम्परागत पहिरनमा सजिएर फूलमालासहित स्वागत गर्ने तयारी गरिएको छ।
आयोजकका अनुसार स्थानीय संस्कृति संरक्षण र प्रवर्द्धनलाई महाधिवेशनको महत्वपूर्ण पक्षका रूपमा समावेश गरिएको हो। संयोजक गिरीले थारु संस्कृति जोगाउने र राष्ट्रिय स्तरमा यसको पहिचान विस्तार गर्ने उद्देश्यसहित यो व्यवस्था गरिएको बताएका छन्।
