`

कोशी प्रदेशका कानुन मन्त्रीको घरमा प्रहरीले किन हान्यो छापा ?

Nepal One HD ५ असार २०८३ १४:१०
प्रमुख खबर

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको सरकारी क्वाटरमा बिहीबार राति प्रहरीले छापा मारेको छ।

विराटनगर–३, ल क्याम्पस नजिकै रहेको मन्त्री निवासमा राति करिब ११ बजे प्रहरी टोली पुगेको र पर्खाल नाघेर भित्र प्रवेश गरेको मन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार घटनाको समयमा मन्त्री पराजुली निवासमा उपस्थित थिएनन्। प्रहरीको यस्तो प्रवेश शैलीलाई लिएर सुरक्षा प्रोटोकल र समन्वयबारे प्रश्न उठाइएको छ।

तर मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले भने प्रहरी कुनै मन्त्री लक्षित कारबाहीका लागि नभई फरार अभियुक्तको खोजी क्रममा उक्त स्थानमा पुगेको स्पष्ट पारेका छन्। उनका अनुसार कर्तव्य ज्यान मुद्दामा संलग्न एक पुरानो फरार अभियुक्त सोही घरमा पहिले बस्ने गरेको सूचनाका आधारमा प्रहरी टोलीले रेकी तथा खोजी गरेको थियो।

सीडीओ कटेलले भने, ‘एकजना हत्याका अभियुक्त पहिले सोही घरमा कोठा भाडामा लिएर बस्ने सूचना थियो। लुकिछिपेको हुनसक्ने आशंकामा प्रहरी टोली पुगेको हो। उक्त घर मन्त्रीको निवास हो भन्ने जानकारी टोलीलाई थिएन।’

उनका अनुसार प्रहरी अभियान पूर्ण रूपमा फरार अभियुक्तको खोजीमा केन्द्रित थियो र मन्त्री लक्षित कुनै पनि उद्देश्य थिएन।

सीडीओ कटेलका अनुसार ती अभियुक्त केही समयअघि चितवनबाट भागेर आएको सूचना पनि प्राप्त भएको थियो। तर प्रहरी पुग्नुअघि नै उनी त्यहाँबाट स्थानान्तरण भइसकेको पाइएको छ।

तर मन्त्रीको सचिवालयले भने प्रहरीले निवासको जानकारी हुँदाहुँदै राति पर्खाल नाघेर प्रवेश गर्नु अस्वाभाविक भएको दाबी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *