श्रीकृष्ण हिरासत मृत्यु प्रकरण : कुटपिट भएको प्रमाण नभेटिएको गृहमन्त्री गुरुङको दाबी
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सिन्धुलीस्थित प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको मृत्यु प्रकरणमा कुटपिट भएको प्रमाण नभेटिएको बताएका छन्।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसद भुवनबहादुर सुनारले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले घटनाबारे छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भइसकेको जानकारी दिए। उनका अनुसार प्रतिवेदनले हिरासतमा रहँदा मृतकलाई कुनै शारीरिक वा मानसिक यातना नदिइएको निष्कर्ष निकालेको छ।
गृहमन्त्री गुरुङले प्राप्त प्रतिवेदनका आधारमा प्रहरी कुटपिट भएको भन्ने आरोप पुष्टि नहुने बताए। उनले प्रहरी संगठनभित्र दलित समुदायका मुद्दा सम्बोधन गर्न ‘दलित सेल’ कार्यान्वयनमा ल्याइएको पनि जानकारी दिए।
उनले मन्त्रालयले यो घटनालाई गम्भीर रूपमा लिएको र भविष्यमा नयाँ तथ्य वा प्रमाण आएमा आवश्यक छानबिन तथा कारबाही अघि बढाइने प्रतिबद्धता जनाए।
बैठकमा सांसद सुनारले जातीय विभेद, अन्तरजातीय विवाहसँग सम्बन्धित हिंसा तथा प्रहरी हिरासतमा हुने मृत्युबारे प्रश्न उठाएका थिए। उनले टेबल–कुर्सीसमेत नभएको हिरासतमा सात फिट उचाइबाट आत्महत्या सम्भव हुन्छ कि हुँदैन भन्ने प्रश्नसमेत गरेका थिए।
बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए।
