किन हुँदैछ भद्रपुरका मेयर गणेश पोखरेलको प्रसंशा ?
काठमाडौं । भारतको किशनगञ्ज जिल्लास्थित भादगाउँ ग्राम पञ्चायतको गलगलिया बजारमा लागेको भीषण आगलागी नियन्त्रण गर्न नेपालको भद्रपुर नगरपालिकाले तत्काल दमकल पठाएपछि त्यहाँका नगरप्रमुख गणेश पोखरेलको प्रशंसा भइरहेको छ ।
असार २ गते राति करिब साढे ९ बजे गलगलिया बजारमा आगलागी भएको सूचना भद्रपुर नगरपालिकामा पुगेको थियो ।
विद्युत् सर्टका कारण आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त हुनासाथ नगरप्रमुख पोखरेलले दमकल घटनास्थलतर्फ पठाउन निर्देशन दिएका थिए ।
भद्रपुरबाट पुगेको दमकलले आगो नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको थियो । स्थानीयका अनुसार दमकल समयमै नपुगेको भए आगलागीले पूरै बजार खरानी बनाउने जोखिम थियो । आगलागीबाट करिब पाँच वटा घरमा क्षति पुगे पनि ठूलो क्षति हुनबाट जोगिएको छ ।
आगलागी भएको गलगलिया बजार आसपास दमकल छैन । त्यसो हुँदा भद्रपुर नगरपालिकाले पठाएको दकमलले बजार जोगाउन सफल भयो ।
नगरप्रमुख पोखरेलले नेपाल र भारतबीच सदियौँदेखि सामाजिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध रहँदै आएको उल्लेख गर्दै विपद्को समयमा मानवीय संवेदनालाई प्राथमिकतामा राखेर सहयोग गरिएको बताए ।
‘देश फरक भए पनि विपद्का बेला मानवीयताको कुनै सीमा हुँदैन । सूचना पाउनेबित्तिकै क्षति कम गर्न दमकल पठाउने निर्णय गरेका थियौँ र बजार जोगायौँ, यसमा खुसी छौँ,’ उनले नेपालवान एचडीसँग भने ।
सीमापारको विपत्तिमा भद्रपुर नगरपालिकाले देखाएको तत्परता र मानवीय सहयोगको स्थानीयवासी तथा सरोकारवालाले खुलेर प्रशंसा गरेका छन् ।
विपद्को समयमा छिमेकी देशको स्थानीय सरकार (भद्रपुर नगरपालिका)ले सहयोगमा अग्रसरता देखाएको भन्दै नगरप्रमुख पोखरेलको कदमलाई उदाहरणीय कार्यका रूपमा हेरिएको छ ।
