क्वान्टम प्रकाश नियन्त्रणमा सफलता
एजेन्सी। अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूले क्वान्टम प्रकाश स्रोतलाई नियन्त्रण गर्ने नयाँ प्रविधि विकास गरेका छन्। जसलाई भविष्यका क्वान्टम प्रणालीलाई वास्तविक–विश्व प्रयोगमा उपयोगी बनाउन महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
अष्ट्रेलियाको युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी (यूटीएस) ले सार्वजनिक गरेको जानकारी अनुसार, यो अनुसन्धानले साना क्वान्टम प्रकाश स्रोतहरूको नियन्त्रणका लागि नयाँ संयन्त्र विकास गरेको हो।
यसले क्वान्टम कम्प्युटिङ, सुरक्षित सञ्चार र अत्यन्त संवेदनशील सेन्सिङ प्रविधिमा यसको प्रयोगलाई व्यवहारिक बनाउने दिशामा प्रगति गरेको बताइएको छ।
‘साइन्स एडभान्सेस’ मा प्रकाशित अध्ययन अनुसार अनुसन्धानकर्ताहरूले प्रयोगका क्रममा प्रकाशको रङ तथा तरंग लम्बाइमा उल्लेखनीय परिवर्तन गर्न सफल भएका छन्। साथै, तहयुक्त सामग्रीलाई बारम्बार उठाउने, घुमाउने र पुनः मिलाउने (रि–अलाइन) गर्ने प्रक्रिया पनि सफलतापूर्वक प्रदर्शन गरिएको छ, जुन अघिल्ला प्रयोगभन्दा फरक उपलब्धि मानिएको छ।
यूटीएस नेतृत्वको अन्तर्राष्ट्रिय अनुसन्धान टोलीका अनुसार हेक्सागोनल बोरोन नाइट्राइडको संरचनाले यसको पातलो र तहयुक्त विशेषतालाई प्रभावकारी रूपमा उपयोग गर्न अनुमति दिएको छ।
यसले परम्परागत रूपमा प्रयोग हुने हिरा वा सिलिकन कार्बाइडजस्ता ठोस–अवस्था सामग्रीको विकल्पमा यसको प्राकृतिक गुणलाई नै उपयोग गर्ने नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ।
अनुसन्धानकर्ताहरूका अनुसार यो उपलब्धिले क्वान्टम प्रकाश स्रोतको नियन्त्रणमा थप सटीकता र स्थिरता प्रदान गर्ने भएकाले भविष्यका उन्नत क्वान्टम प्रविधिहरूको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ।
