`

काठमाडौं उपत्यकामा रोबोटले सिकाउँदै ट्राफिक नियम

Nepal One HD ९ असार २०८३ १०:४७
विज्ञान-प्रविधि

काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्न रोबोटिक प्रविधि प्रयोग गर्ने सम्भावनाबारे अध्ययन सुरु गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले निजी क्षेत्रसँगको सहकार्यमा रोबोटको प्रभावकारिता परीक्षण गरिरहेको जनाएको हो।

पछिल्ला दिनमा ट्राफिक प्रहरीसँगै रोबोट देखिएका भिडिओ सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिन थालेपछि यसबारे सर्वसाधारणको चासो बढेको छ। यद्यपि ट्राफिक प्रहरीले हालसम्म यो परियोजना परीक्षण र अध्ययनकै चरणमा रहेको स्पष्ट पारेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार प्रविधिमैत्री ट्राफिक व्यवस्थापनको अवधारणाअन्तर्गत नागरिकलाई सचेत गराउने नयाँ उपायको खोजी भइरहेको छ। उनले रोबोटमार्फत ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन भइरहेको बताए।

उनका अनुसार हालैदेखि सुरु गरिएको परीक्षणले रोबोटलाई ट्राफिक सचेतना कार्यक्रममा सहायक उपकरणका रूपमा प्रयोग गर्न सकिने वा नसकिने विषयमा जानकारी दिनेछ। यसको उपयोगिता, प्रभाव र सञ्चालनका विभिन्न पक्षबारे अध्ययन भइरहेकाले तत्काल कुनै नीतिगत निर्णय भइनसकेको उनले स्पष्ट पारे।

ट्राफिक प्रहरीको प्रारम्भिक योजनाअनुसार लामो दूरीका यात्रु र सार्वजनिक सवारी चालकलाई लक्षित गरी बसपार्क क्षेत्रमा रोबोटमार्फत सुरक्षा सन्देश प्रवाह गर्न सकिने सम्भावना हेरिएको छ। यसका लागि आवश्यक सचेतनामूलक सामग्री तयार पारेर रोबोटलाई त्यसअनुसार प्रशिक्षण दिने काम भइरहेको जनाइएको छ।

सहकार्य गरिरहेको प्रविधि कम्पनीका प्रतिनिधि सुमन खड्काले ट्राफिक प्रहरीबाट प्राप्त सामग्रीका आधारमा रोबोटलाई विभिन्न विषयमा डिजिटल रूपमा प्रशिक्षण दिइरहेको जानकारी दिए। उनका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउँदा हुने जोखिम, सडक सुरक्षाका आधारभूत नियम तथा जेब्रा क्रसिङको प्रयोगजस्ता विषयमा जनचेतना फैलाउन रोबोट उपयोगी हुन सक्छ।

उनले नेपालको वर्तमान सडक तथा भौतिक पूर्वाधारलाई हेर्दा रोबोटलाई नियमित रूपमा सडकमा परिचालन गर्ने अवस्था तत्काल नरहे पनि विशेष अभियान, प्रदर्शनी तथा जनचेतनामूलक कार्यक्रममार्फत यसको प्रयोग सम्भव रहेको बताए।

परीक्षणको नतिजा सकारात्मक आएमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी आगामी चरणका योजना तय गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *