`

डिगो बन्यो नेपालमा सरकारी इजाजत पाउने पहिलो ओटीटी प्लेटफर्म

Nepal One HD ९ असार २०८३ १५:१२
विज्ञान-प्रविधि

काठमाडौं । ओभर द टप (ओटीटी) सेवा प्रदायक डिगोले नेपाल सरकारबाट औपचारिक इजाजत प्राप्त गरेको छ। यससँगै डिगो नेपालमा कानुनी रूपमा अनुमति पाउने पहिलो ओटीटी प्लेटफर्म बनेको छ।

डिसहोम डिजिटल प्रालि अन्तर्गत सञ्चालित उक्त प्लेटफर्मले सोमबार सूचना तथा प्रसारण विभागबाट इजाजतपत्र प्राप्त गरेको हो। विभागका अनुसार आवश्यक कागजी प्रक्रिया पूरा गर्दै एक करोड रुपैयाँ दस्तुर बुझाएर इजाजत प्रदान गरिएको हो।

सरकारी अभिलेखअनुसार नेट टिभी प्रालि र एनसेलले पनि ओटीटी सेवा सञ्चालनका लागि इजाजत प्राप्त गर्न निवेदन दिएका छन्।

सरकारले हालै राष्ट्रिय प्रसारण नियमावली संशोधन गर्दै ओटीटी सेवाहरूलाई कानुनी दायरामा ल्याउने व्यवस्था लागू गरेको थियो। सोही नयाँ प्रावधानअनुसार डिगोले इजाजत पाएको हो।

हाल डिगोले फिफा विश्वकप २०२६ लगायतका प्रत्यक्ष खेलकुद कार्यक्रमहरू स्ट्रिमिङ गर्दै आएको छ। साथै, प्लेटफर्ममार्फत चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, प्रत्यक्ष प्रसारण, खेलकुद सामग्री र डकुमेन्ट्रीजस्ता डिजिटल सामग्री पनि उपलब्ध गराइँदै आएको छ।

सरकारको नयाँ नीति लागू भएसँगै नेपालमा डिजिटल प्रसारण तथा ओटीटी उद्योग औपचारिक संरचनाभित्र प्रवेश गर्ने प्रक्रिया सुरु भएको मानिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *