कांग्रेसले खटायो ७७ जिल्लामै प्रतिनिधि,कुन जिल्लामा को-को ? [सूचीसहित]
काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन देशभरका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। पार्टीले आगामी महाधिवेशनलाई लक्षित गर्दै सदस्यता विस्तार अभियानलाई तीव्र बनाएको हो।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा रहेको सदस्यता व्यवस्थापन समितिको सिफारिस तथा केन्द्रीय समितिको निर्णयअनुसार प्रतिनिधिहरूलाई सम्बन्धित जिल्लामा पठाइएको छ। उनीहरूले नयाँ सदस्यता वितरण, आवेदन प्रक्रियाको सहजीकरण, समन्वय तथा अनुगमन गर्ने जिम्मेवारी पाएका छन्।
कांग्रेसले हालै नयाँ क्रियाशील सदस्यताका लागि आवेदन खुला गरेको छ। इच्छुक व्यक्तिले अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। नयाँ सदस्यता आवेदनको अन्तिम मिति असार २० गते तोकिएको छ।
पार्टीले यसपटक विशेष गरी ३५ वर्षमुनिका युवाको सहभागिता बढाउने रणनीति अपनाएको छ। प्रस्तावित विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट तीन जना ३५ वर्षमुनिका युवालाई महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी गराउने तयारी गरिएकाले युवा सदस्यता विस्तारलाई प्राथमिकतामा राखिएको कांग्रेसले जनाएको छ।
कांग्रेस नेतृत्वले सदस्यता वितरण प्रक्रियामा विवाद, दोहोरोपन तथा अनियमितता रोक्न केन्द्रीय प्रतिनिधिको प्रत्यक्ष निगरानी आवश्यक भएको निष्कर्ष निकालेको छ। प्रतिनिधिहरूले जिल्लास्थित पार्टी संरचनासँग समन्वय गर्दै सदस्यता वितरणको कामलाई निर्धारित समयभित्र सम्पन्न गराउनेछन्।
यी हुन् जिल्लागत केन्द्रीय प्रतिनिधि
बागमती प्रदेशअन्तर्गत काठमाडौंमा उदयशमशेर राणा, ललितपुरमा मनोजमणि आचार्य, भक्तपुरमा राजेन्द्रकुमार केसी, चितवनमा डा. केदारनरसिंह केसी, धादिङमा सुशील भट्ट, काभ्रेपलाञ्चोकमा शिव सुनार, सिन्धुपाल्चोकमा इच्छु राना, दोलखामा ओम घर्ती मगर, रामेछापमा सीता मिजार, सिन्धुलीमा मुकेश काफ्ले, नुवाकोटमा वंशलाल तामाङ, रसुवामा ईश्वर अधिकारी तथा मकवानपुरमा बद्रीप्रसाद अर्याल खटिएका छन्।
गण्डकी प्रदेशतर्फ गोरखामा तिलक रानाभाट, लमजुङमा कृष्णबहादुर केसी, तनहुँमा कुशुमदेवी थापा मगर, मनाङमा मनकुमारी गुरुङ, मुस्ताङमा जगदीश उपाध्याय, म्याग्दीमा छन्दबहादुर पहराई, बागलुङमा जितनारायण श्रेष्ठ, कास्कीमा विष्णुदेवी पाण्डे, स्याङ्जामा दीपक भट्टराई, नवलपुरमा गोपाल दहित र पर्वतमा रेसमबहादुर बानियाँलाई जिम्मेवारी दिइएको छ।
लुम्बिनी प्रदेशमा बर्दियामा सुरेन्द्रप्रसाद चौधरी, अर्घाखाँचीमा राजेन्द्रगोपाल सिंह, गुल्मीमा हरि आचार्य, पाल्पामा मुना भुसाल, रुपन्देहीमा नारायणप्रसाद भट्टराई, कपिलवस्तुमा प्रदीपराज शर्मा, पश्चिम नवलपरासीमा केशवप्रसाद निरौला, दाङमा राधेश्याम पाठक, बाँकेमा महेन्द्र शर्मा, रोल्पामा किरणकिशोर घिमिरे, प्यूठानमा टेकराज पौडेल, रुकुम पश्चिममा नारायण कोइराला र पूर्वी रुकुममा भीम श्रीष खटिएका छन्।
मधेश प्रदेशमा सप्तरीमा रामपल्टन साह, सिरहामा रामकुमार यादव, धनुषामा सुवासकुमार पोखरेल, महोत्तरीमा शम्भुलाल श्रेष्ठ, सर्लाहीमा अनिलकुमार झा, रौतहटमा प्रमोदहरि गुरागाईं, बारामा मथुराप्रसाद घिमिरे तथा पर्सामा उज्वलप्रसाद बराललाई जिम्मेवारी दिइएको छ।
कोशी प्रदेशमा ताप्लेजुङमा हिमालय कर्माचार्य, पाँचथरमा उमा शिवाकोटी, इलाममा यदु विष्ट, झापामा राजीव कोइराला, मोरङमा सुधीरकुमार शिवाकोटी, सुनसरीमा कुमार लुइँटेल, धनकुटामा नगेन्द्र कुमाल, उदयपुरमा दिनेशकुमार यादव, भोजपुरमा दीपनकुमार श्रेष्ठ, तेह्रथुममा मेदिनीप्रसाद सिटौला, सङ्खुवासभामा रुद्र कन्दङ्वा, सोलुखुम्बुमा लक्ष्मी परियार, खोटाङमा दीपक अधिकारी तथा ओखलढुङ्गामा आङ्गेलु शेर्पा खटिएका छन्।
कर्णाली प्रदेशमा हुम्लामा सूर्यबहादुर विक, जुम्लामा तपेन खड्का, मुगुमा युवराज पाण्डेय, कालिकोटमा कमलराज रेग्मी, डोल्पामा बलदेव तिमिल्सिना, दैलेखमा तीर्थजंग शाही, सुर्खेतमा लेखनाथ पोखरेल, सल्यानमा केशवराज आचार्य र जाजरकोटमा छाया सुनारलाई प्रतिनिधिको जिम्मेवारी दिइएको छ।
सुदूरपश्चिम प्रदेशमा अछाममा जगतप्रसाद जोशी, बझाङमा विजयबहादुर स्वाँर, बाजुरामा गणेशराज भट्ट, डोटीमा हिमबहादुर रावल, डडेल्धुरामा सम्झना खत्री, दार्चुलामा सन्तोषी साउद ऐरी, बैतडीमा सुशीला मिश्र भट्ट, कञ्चनपुरमा दीलेन्द्रप्रसाद बडू तथा कैलालीमा मधु आचार्य खटिएका छन्।
कांग्रेसले सदस्यता विस्तार अभियानलाई संगठन सुदृढीकरणको आधार मानेको छ।
आगामी महाधिवेशनअघि पार्टीमा नयाँ पुस्ताको सहभागिता बढाउने र संगठनलाई थप चलायमान बनाउने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको जनाइएको छ।
