भेनेजुएलामा दोहोरो शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या २३५ पुग्यो, हजारौँ घाइते
एजेन्सी। उत्तरी भेनेजुएलामा लगातार ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि मृत्यु हुनेको संख्या कम्तीमा २३५ पुगेको छ।
हजारौँ मानिस घाइते भएका छन् भने सयौँ व्यक्ति अझै भग्नावशेषमुनि फसेको आशंकामा उद्धार अभियान चौबीसै घण्टा जारी छ।
भेनेजुएलाका स्वास्थ्यमन्त्री कार्लोस अल्भाराडोका अनुसार हालसम्म चार हजार ३ सयभन्दा बढी घाइतेको उपचार भइरहेको छ। उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरूले बताएका छन्।
भूकम्पका कारण राजधानी कराकास नजिकैको उत्तरी तटीय राज्य ‘ला गुएरा’ सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ दर्जनौँ भवन पूर्ण रूपमा भत्किएका छन् भने करिब २५० वटा भवनमा पूर्ण वा आंशिक क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ। हजारौँ परिवार विस्थापित भएका छन् र प्रभावित क्षेत्रमा विद्युत्, सञ्चार तथा यातायात सेवा पनि प्रभावित भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुवै भूकम्पबीच करिब ३९ सेकेन्डको मात्र अन्तर थियो। भूगर्भविद्हरूले यसलाई ‘डबल्ट’ अर्थात् समान शक्तिका लगातार दुई मुख्य भूकम्पको दुर्लभ घटना बताएका छन्। दोस्रो भूकम्प पहिलोभन्दा अझ शक्तिशाली रहेको जनाइएको छ।
प्रभावित क्षेत्रमा उद्धार टोली, सुरक्षाकर्मी र स्वयंसेवकहरू भग्नावशेष हटाउँदै जीवित व्यक्तिको खोजीमा जुटिरहेका छन्। भारी उपकरण अभाव भएका स्थानमा स्थानीय बासिन्दाले समेत हातैले भग्नावशेष पन्छाएर उद्धारमा सहयोग गरिरहेका छन्।
सरकारले सबैभन्दा बढी प्रभावित ‘ला गुएरा’लाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेको छ। विद्यालयहरूलाई अस्थायी आश्रयस्थलमा रूपान्तरण गरिएको छ भने राहत सामग्री वितरण, स्वास्थ्य सेवा विस्तार र पुनर्स्थापनाको कामलाई तीव्रता दिइएको छ।
यस घटनापछि विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरूले भेनेजुएलालाई मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
संयुक्त राष्ट्रसंघले पनि उद्धार तथा राहत समन्वयमा सहयोग गरिरहेको जनाएको छ।
